५२ वर्षअघि युवा अवस्थामा घरबाट निस्किएका बेनी नगरपालिका– ४ थामडाँडाका गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) परिवारको सम्पर्कमा आएका छन् । तत्कालीन समयमा धेरै खोजी गरेपछि नभेटिएका गुरुङको आस परिवारले मारिसकेका थिए । तर, घर छाेडेर हराएको ५२ वर्षपछि गुरुङ भेटिएका छन् । उनी भेटिएनन् मात्रै, ७५ वर्षको उमेर पार गर्दै गर्दा पारिवारिक पुनर्मिलनसमेत भएको छ । वि.सं. २००३ सालमा जन्मिएका उनी वि.सं. २०२३ सालमा घरपरिवारको सम्पर्कबाट हराएका थिए ।
तत्कालीन समयमा घरबाट हराएर सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका– ३ मत्स्यगाउँमा पुगेका थिए । स्थानीय युवा पूर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा गुरुङको तस्बिरसहित बाग्लुङ, बेनी र तातोपानीको नाम लिने उनी आफ्नो पुर्ख्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।
रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षाैँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबीच टेलिफोनमा संवाद गराएर यकिन गरिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताए ।
कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा एक्लै बसोवास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइकाे परिवारसँग मंगलबार पुनर्मिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी बिसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर माइलो बुबालाई आफ्नो घरमा ल्याएका छन् ।