रंगमञ्चमा बत्ती बल्यो

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

- सिनामंगलस्थित पुरानो नाटकघरमा ‘म’ नाटक भौतिक उपस्थितिमै मञ्चन भइरहेको छ । सुलक्षण भारतीको लेखन, निर्देशन र अभिनय रहेको नाटक १ असोजदेखि मञ्चन भएको हो । यो पुरानो नाटक घरको पहिलो एकल नाटक मञ्चन पनि हो । 

- टेकुस्थित कथा घेरा (कौसी थिएटर)मा १५ देखि २० असोजसम्म नाटक ‘हरेक बबाल कुरा’ पुनः मञ्चन भइरहेको छ । यसअघि यो नाटक २५ भदौदेखि १ असोजसम्म मञ्चन भएको थियो । ‘हरेक बबाल कुरा’ एकल नाटक हो । यसमा रंगकर्मी सुदाम सिके एकजना मात्रै पात्र छन् । जसलाई आकांक्षा कार्कीले निर्देशन गरेकी छिन् । उनका अनुसार ‘हरेक बबाल कुरा’ले मानसिक स्वास्थ्य र डिप्रेसनलाई कथा बनाएको छ । 

- शिल्पी थिएटर बत्तीसपुतलीमा भर्खरै दुईवटा नाटक मञ्चन भयो । शिल्पीका अध्यक्ष कुमार आलेका अनुसार  शिल्पीकै प्रोडक्सनमा रहेको ‘नो एक्जिट’ मञ्चन भइसकेको छ भने सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ मञ्चन भइरहेको छ ।

०००                                                                ००० 

कोरोना भाइरस महामारीले लामो समय नाटक घरहरू बन्द रहे । नाटकका सयौँ कार्यक्रम रद्द भए । रंगकर्मीहरू दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरबाट वञ्चित मात्रै भएनन् रंगकर्मको विल्कप खोज्नुपर्ने अवस्थामा समेत पुगे । लामो समय अँध्यारो बनेको नाटकघरमा केही समययता बत्ती बल्न थालेको छ । कलाकार र दर्शकको भौतिक सामीप्यतामा रंगमञ्च पर्दा खोलिन थालेका छन् । नाटकघरहरूले महामारीको जोखिमलाई विचार पुर्‍याएर सीमित दर्शक र स्वास्थ्य मापदण्डलाई ध्यान दिएर नाटक मञ्चन सुरु गरेका छन् । 

नाटकका सयौँ कार्यक्रम रद्द भए । रंगकर्मीहरू दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरबाट वञ्चित मात्रै भएनन् रंगकर्मको विल्कप खोज्नुपर्ने अवस्थामा समेत पुगे । लामो समय अँध्यारो बनेको नाटकघरमा केही समययता बत्ती बल्न थालेको छ ।

रंगकर्मी सुलक्षण भारती कोरोना महामारीको त्रासदीपूर्ण समय सम्झन पनि चाहँदैनन् । लामो समय रंगकर्ममा लाग्न नपाउँदा निकै सकस भएको उनको भनाइ छ । तर, यस्तो वेला मनमा खेलेका कुरालाई मञ्चमा प्रस्तुत गर्न अठोट पनि गरेको उनले बताए । झन्डै दुई वर्षसम्म एक्लो बस्दा आफैँलाई खोज्ने र प्रश्न गर्ने अवसर मिलेको उनको भनाइ छ । उनको लेखन, निर्देशन र अभिनय रहेको नाटक ‘म’ ले म हुनुको अर्थको खोजेको बताउँछन् । उनले नाटकमा ‘म’ पात्र केन्द्रमा राखेका छन् । नाटकले समाजका हरेक मानिसको भित्री कथालाई महसुस गराउँछ । लामो समयको विश्रामपछि ‘म’ नाटकले दर्शकलाई थिएटरमा फर्काउने प्रयास गरेको उनले बताए । ‘रंगमञ्च अभ्यास गर्ने ठाउँ पनि हो । अपेक्षाअनुसार दर्शक नआए पनि नाटक मञ्चन भइरहेको छ । हामीले हाम्रो काम गर्नुपर्छ फेरि रंगकर्म पुरानै लयमा आउँछ’, उनले भने । 

यस्तै ‘हरेक बबाल कुरा’ की निर्देशक आकांक्षा कार्कीले दर्शकको प्रतिक्रिया र उत्साहले फेरि नाटक मञ्चन गरेको बताइन् । उनी भन्छिन्, ‘दुई–चारजना मात्रै दर्शकको अपेक्षा गरेका थियौँ । तर, दर्शकको उपस्थितिले उत्साह जगायो र फेरि मञ्चन गर्‍यौँ । अहिले पनि प्रत्येक दिन  ५०–६० जनाको उपस्थिति छ ।’ शिल्पी थिएटरका अध्यक्षका कुमार आले पनि महामारीपछि बिस्तारै नाटकमा दर्शकको आकर्षण बढेको बताउँछन् । उनी भन्छन्, ‘यही कारण नाटकघरहरूले नयाँ–नयाँ नाटक मञ्चन गर्न थालेका छन् । हुन त विकल्प पनि छैन । अब रंगमञ्च पुरानै लयमा फर्कनुपर्छ ।’ उनले पनि सिट क्षमता एक सय ४४ जनाको भए पनि अहिले सिटसंख्याको आधा मात्रै राखेर नाटक मञ्चन गरेको बताए । शिल्पीले दसैँ–तिहारपछि ‘नो एक्जिट’ पुनः मञ्चन गर्ने भएको छ । सेक्सपियरद्वारा लिखित नाटक ‘एज यु लाइक इट’लाई ग्रेटा राणाले निर्देशन गरेका छन् । आशान्त शर्माको सहनिर्देशनमा नाटक तयार भएको हो । निर्देशक शर्माका अनुसार यो रोमान्टिक कमेडी नाटक हो । जसले मानिसका हरेक विचारलाई समिश्रण गरेको छ । 

मण्डलामा दसैँ–तिहारपछि नयाँ नाटक
मण्डला थिएटरले दसैँ–तिहारपछि मात्रै नयाँ नाटकको मञ्चन गर्ने तयारी गरेको कलाकार विजय बरालले बताए । ‘मण्डलाले तत्काल कुनै पनि नाटकको तयारी गरेको छैन । अब छिट्टै मण्डला थापागाउँमा सर्दै छ । नयाँ नाटक घरका लागि नयाँ नाटक तयारी गर्दै छौँ, उनले भने । तर, दसैँअघि तीन दिन भौतिक उपस्थितिमा नाटक ‘जिजीविषा’को मञ्चन गर्ने तयारी भएको उनको भनाइ छ । कलाकार बरालको बुझाइमा रंगमञ्चमा दर्शक आउन वातावरण विस्तारै बन्दै गएको छ । नाटकमा काम राम्रो भयो भने फेरि रंगमञ्चमा दर्शक थपिने उनले विश्वास व्यक्त गरे । 

नाटकघरहरूले महामारीको जोखिमलाई विचार पु¥याएर सीमित दर्शक र स्वास्थ्य मापदण्डलाई ध्यान दिएर नाटक मञ्चन सुरु गरेका छन् । 

रंगकर्मी केदार श्रेष्ठले कोरोना भाइरसको दोस्रो लहरको त्रासपछि रंगमञ्चलाई पुरानै लयमा ल्याउने प्रयत्न भइरहेको बताए । उनको बुझाइमा पहिलेजस्तो एक महिनासम्म नाटक मञ्चन गर्ने वातावरण अझै बनिसकेको छैन । श्रेष्ठ भन्छन्, ‘अहिले केही नाटकघरहरूमा नाटक मञ्चन भइरहेका छन् । तर, पहिलेजस्तो माहोल छैन । अहिले मञ्चन भएका प्रायः एकल मात्रै छन् । दर्शकलाई रंगमञ्चमा फर्काउने अभ्यास भइरहेको छ ।’

कीर्तिपुरस्थित ‘थिएटर मल’ कीर्तिपुरले पनि दसैँ–तिहारपछि मात्रै नयाँ नाटक मञ्चन गर्ने तयारी गरेको उनले बताए । ‘कीर्तिपुर थिएटर मलमा नाटक हेर्न  दर्शक आउने माहोल अझै बनिरहेको छैन । तर, माहोल बनाउने कोसिसमा छौँ,’ उनले भने ।

‘अझै ढुक्क हुने अवस्था छैन’ 

सर्वनाम थिएटरले पनि तत्कालै कुनै नाटक मञ्चनको योजना नबनाएको रंगकर्मी राज शाहले बताए । सर्वनामले दसैँ–तिहारपछि मात्रै नयाँ नाटक तयारी गर्ने उनले बताए । ‘लामो समय रंगमञ्चका बन्द ढोकाहरू खोलिएका छन् । यो हामी रंगकर्मीका लागि खुसीको कुरा हो । तर, पुरानै लयमा फर्क समय लाग्छ । पुरानै लयमा फर्काउन हामी नै लाग्नुपर्छ,’ उनले भने । यद्यपि, रंगकर्मीहरू अझै पनि ढुक्क हुने वातावरण नबनेको उनको बुझाइ छ । 

See More On

सुझावित समाचार