कांग्रेसको १४औँ महाधिवेशन : १० जिल्लाको नेतृत्व चयन

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १० जिल्लाको नेतृत्व चयन भएको छ । गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रामेछाप, संखुवासभा, ताप्लेजुङ, कालिकोट, हुम्ला र दोलखामा कांग्रेसको नेतृत्व चयन भएको हो । 

दसैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने लक्ष्य थियो । तर, केन्द्रीय निर्वाचन समितिले दसैँअघि १४ जिल्लामा जिल्ला तहको अधिवेशन सम्भव हुने बताएको छ । 

‘६४ जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भएका छन् । १० जिल्लामा जिल्ला तहको नेतृत्व चयन भएका छन्,’ केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले नयाँ पत्रिकासँग भने । हालसम्म सम्पन्न १० जिल्लाको अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्ष हाबी भएको छ । जिल्लाको नेतृत्व पाउनेमा ६ जिल्लामा इतर समूह र चार जिल्लामा संस्थापन समूहका छन् ।

कांग्रेसले तराईका जिल्लामा पनि अधिवेशन सुरु गर्ने तयारी गरेको थियो । तर, प्रदेश २ का कुनै पनि जिल्लामा वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन । निर्वाचन समितिले तराईको अधिवेशन प्रक्रियासमेत दसैँपछिबाट मात्र सुरु हुने जनाएको छ । 

सुझावित समाचार