लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । सोमबार बसेको लोसपा संसदीय दलको बैठकले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारले छापा मारी फाइल नियन्त्रणमा लिएको अवस्थामा मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारले फाइल आफ्नो नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा नभएसम्म मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बैठकपछि लोसपाका सांसद उपेन्द्र महतोले बताए । ‘एकतिर मुख्यमन्त्री राउत आर्थिक सुशासन र परादर्शिताको कुरा गर्छन् । अर्कोतर्फ अख्तियारले अनियमितताको आशामा फाइलहरूको अनुसन्धान गरिरहेको वेलामा त्यसलाई प्रभावित गर्न उनको पार्टी आन्दोलन गर्छ,’ सांसद महतोले भने । 

संघीयतालाई अख्तियारले नभई जसपाले बदनाम गर्न खाजेको उनले टिप्पणी गरे । प्रदेश सरकारले अख्तियारको टोलीले छापा मारेपछि त्यसको विरोध गर्नुको औचित्य नरहेको उनको तर्क छ । 
बैठकले आगामी २० असोजमा मुख्यमन्त्री राउतले लिने विश्वासको मत लिन बोलाइएको प्रदेश सभामा पनि राजीनामा माग्ने निर्णय भएको लोसपाका सांसद परमेश्वर साहले बताए । 

यसैबीच, सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै जनकपुरमा विरोध प्रदर्शन गरेको छ । 

गत १३ असोजमा अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारी ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत खरिद गरिएका साइकलसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो ।
 

सुझावित समाचार