गाउँपालिका अध्यक्षको कार्यकक्षमै प्रधानाध्यापकमाथि हातपात

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

जिल्ला समन्वय समितिका सदस्य नन्दे खड्काले ज्वाला उमावि बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीलाई अभद्र व्यवहार  गरेका छन्।  खड्काले भगवतीमाई गाउँपालिकाका अध्यक्षको कार्यकक्षममा  बोलाएर अधिकारीलाई अभद्र व्यवहार गर्दै हातपातसमेत गरे ।  

बेस्तडा उमाविका अध्यक्षसमेत रहेका नन्दे खड्काले अपमानजनक व्यवहार गर्नुका साथै पानीको बोतलले समेत हिर्काएको पीडित देवेन्द्र अधिकारीले बताएका छन् । ‘विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै मलाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको कार्यकक्षमा बोलाइयो, म गएँ, विद्यालयको ८कोठे भवनको विषयमा कुरा भयो, विद्यालयमा सामाजिक परीक्षण गर्ने विषयमा कुरा भयो, भवनको अझै फरफारक हुन सकेको छैन, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद सकिएको दुई वर्ष भइसकेको छ । विद्यालयको शैक्षिक सुधारका विषयमा विद्यालय व्यवस्थापन समिति तत्काल नयाँ गठन गर्नुपर्ने, भवनको प्रभावकारिताबारे जनप्रतिनिधिहरूले ख्याल गर्नुपर्ने विषयमा कुरा हुँदै थिए, एक्कासि ममाथि आक्रोश पोख्दै, गालीगलौज गर्दै, अध्यक्षको टेबुलमा राखिएको पानीको बोतलले हिर्काएर अपमान गरे,’ पीडित अधिकारीले भने। 
राजनीतिक पूर्वाग्रह साँधेर आफूमाथि अनावश्यक आरोप लगाउने गरेको अधिकारीको गुनासो छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयको शैक्षिक सुधारबारे शिक्षा समितिमा छलफल भएको र सोहीअनुसार सामाजिक परीक्षण गर्ने विषयमा छलफल हुँदै गर्दा आपसमा भनाभन भएकै अवस्थामा नन्दे खड्काले देवेन्द्र अधिकारीलाई पानीको बोतलले हिर्काएको र पुनः अर्को बोतल हिर्काउँदा आफूले खोसेको बताए । शिक्षकमाथि जनप्रतिनिधिले गरेको अभद्र व्यवहारप्रति शिक्षक संगठनहरूले आपत्ति जनाएका छन्। 

जनप्रतिनिधि अध्यक्ष हुन नमिल्ने, तर बलमिचाइँ
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका नन्दे खड्का जिल्ला समन्वय समितिको सदस्य भएपछि उनले स्वतः अध्यक्ष पद छोड्नुपर्ने कानुनी प्रावधान हो । अध्यक्ष पद छोडेपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने थियो । तर, नन्दे खड्काले बलमिचाइँ गरेर विगत दुई वर्षदेखि अध्यक्ष पद छोडेका छैनन् । जसका कारण तत्कालीन समयमा निर्माण गरिएको विद्यालयको कामको फरफारक हुन सकेको छैन। विद्यालयका अन्य शैक्षिक गतिविधिहरूमा झनै समस्या भएको छ। शिक्षकहरूले यस्ता विषयहरूको कुरा उठाउँदा नन्दे खड्काले अपमान गर्दै प्रधानाध्यापक नै हटाइदिने धम्की दिँदै आएको शिक्षकहरूको गुनासो छ। 

See More On

सुझावित समाचार