भोटेकोसी गाउँपालिका वडा नं. २, ३ र ४ मा स्थापित ४५ मेगावाट क्षमताको भोटेकोसी पावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन गरेको २० वर्ष भयो। तर, प्रत्यक्ष प्रभावित स्थानीयले आजसम्म न कुनै क्षतिपूर्ति पाए न त सेयर नै। कम्पनीको गैरजिम्मेवारपन र राजनीतिक खिचातानीका कारण सात वर्षअघि सहमति भएको सेयरसम्बन्धी योजनासमेत कार्यान्वयन हुन सकेको छैन।
१५ वर्षसम्म एकलौटी नाफा कमाएको कम्पनीविरुद्ध २०७० मा प्रभावित स्थानीयले सेयर माग गरेर आन्दोलन गरे। नेपाली कांग्रेससमर्थित र एमाले–माओवादी समर्थित स्थानीयले छुट्टाछुट्टै समिति बनाएर लामो समय संघर्ष गरे। अन्ततः भोटेकोसी पावर कम्पनी प्रभावितको मागमा सहमत भयो।
९ पुस ०७१ मा काठमाडौंमा दुवै संघर्ष समिति, पाँच राजनीतिक दल र कम्पनीबीच बैठक गरेर लामो छलफल भयो। बैठकले स्थानीयलाई ६ प्रतिशत सेयर वितरण गर्ने सर्वसम्मत निर्णय गर्याे। ४ फागुन ०७१ मा पुनः बैठक बसेर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने निर्णय भएको थियो। संघर्ष समिति, राजनीतिक दलका प्रतिनिधि र कम्पनीबीच भएको सहमतिले स्थानीय उत्साहित भएका थिए।
साबिकको तातोपानी र फुल्पिङकट्टी गाविसका स्थानीय प्रत्यक्ष प्रभावित हुन्। त्रिपक्षीय दोस्रो बैठकले अन्य प्रभावित भनेर लिस्ती, माङ्खा, घुम्थाङ, मार्मिङ, गाती, मानेश्वाँरा, राम्चे, धुस्कुन, टेकानपुर र पाँग्रेटारलाई किटान गर्याे। थपिएका १० वटा गाविस भोटेकोसी हाइड्रोको टावर र लाइन भएको ठाउँ हुन्। प्रत्यक्ष प्रभावित र अन्य प्रभावितका लागि वितरण गर्ने भनिएको ६ प्रतिशत सेयरबारे अहिले न कम्पनीले कुनै निर्णय गरेको छ न त राजनीतिक दल र संघर्ष समितिले कुनै चासो दिएका छन्। सेयर वितरण गर्ने निर्णय भएको सात वर्ष बित्यो, तर त्यससम्बन्धी कुनै प्रक्रिया अघि बढेको छैन।
सेयर दिने सहमतिको वेला तत्कालीन पाँच राजनीतिक दलले लगानी गर्ने कम्पनी खडा गर्ने र त्यस्ता कम्पनीको सेयर वितरण प्रक्रियामा प्रभावित क्षेत्रका स्थानीयलाई समेट्ने भनिएको थियो। हालसम्म पाँच राजनीतिक दलले लगानी गर्ने कम्पनी खडा गरेका छैनन्। त्यतिवेला नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत, एमालेका नेताहरू अरुण नेपाल, सुभाष कर्माचार्य र केदार क्षेत्री, माओवादी नेताहरू माधव सापकोटा, युवराज दुलाल र सरल सहयात्री पौडेल, राप्रपाबाट रमेश लामा र महेन्द्र लामा, वैद्य माओवादीका नेताहरू दावा तामाङ र उमेश सुन्दास र दुवै संघर्ष समितिका संयोजक दीपेन्द्रकुमार श्रेष्ठ र काशीराज बस्नेतले भोटेकोसी पावर कम्पनीसँग सेयरको विषयमा सहमति गरेका थिए।
सात वर्षको समयमा भोटेकोसी क्षेत्रमा ठुल्ठूला बाढी आए। नदीले हाइड्रोको बाँध र पावरहाउस ध्वस्त पार्याे। सात अर्ब खर्चेर पुनर्निर्माण सम्पन्न भई विद्युत् उत्पादन पुनः सुचारु भइसकेको छ। राजनीतिक दल र नेता यताउता भए। स्थानीय, प्रदेश र संघीय चुनाव भएर नयाँ संरचना बन्यो। तर, प्रभावित जनताले केही पाएका छैनन्।
‘सेयर दिने निर्णय कम्पनीले गरेको छ। तर, कसलाई दिने भनेर किटान गर्न नसकेकोले यो प्रक्रिया रोकिएको हो,’ भोटेकोसी पावर कम्पनीका सहायक महाप्रबन्धक बबिन प्रधानले भने। सेयर दिने सवालमा राजनीतिक दलका नेताबीच विवाद भएकोले अप्ठ्यारो परेको उनी बताउँछन्। पछिल्लो समय प्रभावित स्थानीयले ६ प्रतिशत सेयर पाउनुपर्ने माग राखेर राजनीतिक दलका नेता र कम्पनीको अध्यक्षसम्म गुनासो राख्दै आए पनि कसैले चासो दिएका छैनन्।