कांग्रेस सहमहामन्त्री महतको दाबी– चुनावपछि कांग्रेसको एकल सरकार

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार कांग्रेस बूढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै महतले अहिले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बने पनि विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरूको गठबन्धन सरकार भएकाले समस्या भएको बताएका हुन् ।

उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न अक्षम भएकाले संविधानअनुरूप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको बताए । महतले वर्तमान सरकारले संविधानअनुरूप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खलबल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउँदै देश र जनताको हितमा काम गरिरहेको दाबी गरे । 

सत्ता साझेदार दलहरूको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरू हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरूलाई आग्रह गरे ।
 

सुझावित समाचार