नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्वमाओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताए । माओवादी आन्दोलनलाई बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे।
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूले आफूहरूलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताए । लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनले बताए । सबै एक भए शासकीय स्वरूप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरैमाथि पुर्याउन सकिने उनले बताए ।