हुम्लाका बालबालिकामा फुटबल मोह बढ्दै

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

हुम्लाको फुटबल मैदान निर्माणाधीन अवस्थामा छ । मैदान निर्माण भइनसके पनि फुलबल खेल्न भने रोकिएको छैन । रंगशालामै फुटबल खेलेजस्तो नभए पनि रंगीचंगी पोसाक लगाएका बालबालिका दिनहुँजसो फुटबल खेलिरहेको देख्न सकिन्छ । कोही बल हानिरहेका हुन्छन् भने कोही खेलाडीलाई उत्साह थप्न कराइरहेका हुन्छन् । यस्तै केही बालबालिका फुटबलसँगै कुदिरहेका हुन्छन् । 

यो दृश्य हो जिल्ला फुटबल एकेडेमी हुम्लाले बालबालिकालाई दिइरहेको फुटबल प्रशिक्षणको । यो दृश्यले हुम्लाका बालबालिका फुटबल खेल्न कत्तिको उत्साही छन् भनेर पनि देखाउँछ । एकेडेमीले प्रशिक्षण सुरु गरेसँगै यहाँका बालबालिका दिनहुँजसो बिहान–बेलुकै फुटबल मैदानमा फुटबल खेल्न पुग्छन् । जिल्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले हुम्लाका बालबालिकालाई हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मै बालबालिकालाई फुटबल खेल सिकाइरहेका छन् । 

एकेडेमीले प्रशिक्षण दिन थालेपछि एक सयभन्दा धेरै बालबालिका सहभागी भएको एकेडेमीका अध्यक्ष रावतले जानकारी दिए । मंगलबार ३० जना केटी र २२ जना केटालाई फुटबल पोसाक हस्तान्तरण गरेको उनले बताए । 

सुझावित समाचार