एकीकृत समाजवादीप्रति एमालेको निषेध राजनीति

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)प्रति निषेधको राजनीति सुरु गरेको छ । अध्यादेशमार्फत विभाजन भएको पार्टी नेकपा एसका सांसदलाई प्रवेश निषेधको माग राख्दै निरन्तर संघीय संसद् अवरोध गर्दै आएको एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकसमेत बहिष्कार गरेको छ । 

सार्वजनिक अभिव्यक्ति र राजनीतिक दस्ताबेजमा नेकपा एसलाई राजनीतिक शक्तिको मान्यता दिन आनाकानी गरेको एमालेले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गरेको छ । र, कारण देखाएको छ– नेकपा एसको उपस्थिति । कानुनको जगमा दलहरू भएको विभाजनलाई संवैधानिक निकाय निर्वाचन आयोग र संसद्ले मान्यता दिए पनि एमालेले नेकपा एसलाई मान्यता दिन लगातार अस्वीकार गरेको छ । 

यतिसम्म कि एमाले अध्यक्ष केपी ओलीको विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा ‘निहित स्वार्थ, कुष्ठा र प्रतिशोधको जगमा उभिएको तथा विपक्षी शक्तिहरूको दुरुत्साहन र योजनामा जन्मिएको यस समूहप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र जनताको आपत्ति, आक्रोश र तिरस्कार’ रहेको भन्दै नेकपा एसप्रति लिइने नीतिको संकेत छ । एमालेले एकीकृत समाजवादीलाई कुनै राजनीतिक शक्ति नभई ‘निहित स्वार्थ, कुण्ठा र प्रतिशोधको जगमा उभिएको, विपक्षी शक्तिहरूको दुरुत्साहन र योजनामा जन्मिएको समूह’ भनेर उल्लेख गरेको छ।

‘संविधान, दलीय प्रणाली र संसदीय अभ्यासको धज्जी उडाउँदै जारी भएको अध्यादेशले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनैमा २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न पाउने बाटो खोले पनि नेकपा एमालेबाट अलग्गिएर केही व्यक्तिहरूले नेकपा (एकीकृत समाजवादी) नामको समूह गठन गरेका छन्,’ ओलीको दस्ताबेजमा छ, ‘लोकतान्त्रिक पार्टीको जीवनमा मत–मतान्तरहरू स्वाभाविक हुन् । मतभिन्नता बढ्दै गर्दा त्यसको अलावा सिद्धान्त, विचार र कार्यदिशाको स्वरूप लिए भने अलग पार्टीका रूपमा संगठित हुनु अस्वाभाविक होइन । तर, एमालेबाट केही व्यक्तिहरूको यो बहिर्गमन र तिनीहरूका अलग समूह गठनका पछाडि कुनै सैद्धान्तिक, राजनीतिक वा नीतिगत कारण, आधार र औचित्य छैन ।’

एमालेले यही निषेधको राजनीतिलाई संसद्देखि सर्वदलीय बैठकसम्ममा अपनाएको छ । बिहीबार प्रधानमन्त्री देउवाले संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राजनीतिक दलहरूले सहमतिमार्फत संसद्को अवरोध हटाउन आग्रह गरेपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, त्यही बैठकमा विपक्षी भने सहभागी भएन । 

एमालेका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले एकीकृत समाजवादी वैधानिक शक्ति नरहेकाले उसको अस्तित्व स्वीकार गर्न नसक्ने बताए । ‘जो अवैधानिक छ, कानुन मिचेर भएको छ, संविधान मिचेर बनाइएको छ, त्यस्तो दललाई मान्यता दिएको ठाउँमा हामी उपस्थित हुन सक्दैनौँ । एकीकृत समाजवादी वैधानिक पार्टी होइन,’ अधिकारीले भने, ‘त्यस्तो दलसँग लगेर वैधानिकता दिलाउन बैठक राख्नु भनेको निहुँ खोज्ने कुरा हो । एस पार्टीबाहेकसँग पनि हामी बस्न सक्छौँ । एस पार्टी हो कि होइन थाहा छैन । यो कृत्रिम गर्भाधानबाट जन्माइएको सन्तानजस्तो हो ।’ 

एमालेले लिएको निषेधको राजनीतिप्रति सत्तागठबन्धनको असन्तुष्टि छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवादबाट भागेको आरोप लगाए । ‘उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ,’ सर्वदलीय बैठकपछि उनले भने । राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले प्रधानमन्त्रीलाई संघीय संसद्को अवरोध हटाउन भूमिका खेल्नु भनेपछि सर्वदलीय बैठक बोलाइएको कार्कीको भनाइ थियो । 

एमालेले आफूले सिफारिस गरेका आधारमा माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै २३ भदौयता संसद्मा निरन्तर अवरोध गरिरहेको छ । तर, बिहीबार त्यही अवरोध हटाउनका लागि बोलाइएको बैठकमा भने एमाले नै उपस्थित भइदिएन । यसअघि २८ भदौमा प्रतिनिधिसभामा जारी अवरोध हटाउने विषयमा छलफल गर्नका लागि सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठकको आह्वान गरेका थिए । उक्त बैठक पनि एमालेले बहिष्कार मात्रै गरेन, उल्टै सभामुख सापकोटालाई नै ‘दलको कार्यकर्ताका हिसाबले काम गरिरहेको’ भनेर आरोपसमेत लगायो । 

एकीकृत समाजवादीले एमालेलाई संसद् बहिष्कार गरेर देखाउन चुनौती दिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले नयाँ पत्रिकासँगको कुराकानीमा आफूहरू भएको बैठकमा सहभागी हुँदैन भन्नुको कुनै तुक नरहेको भन्दै एमाले अनुशासन, विधि र पद्धतिलाई नमान्ने बाटोमा हिँडेको प्रतिक्रिया दिए।

‘उनीहरू कति अलोकतान्त्रिक, असहिष्णु र कति विक्षिप्त भएका रहेछन् भनेर देखिँदै छ । नेकपा (एस) भएको ठाउँमा जाँदैनौँ भनेपछि संसद्भित्रै गएर किन नारा लगाएको ?’ खतिवडाले भने, ‘आफैँले दुई–दुईपटक भंग गरेको संसद्मा उसलाई नैतिक रूपमा बस्ने अधिकार पनि छैन । दलीय व्यवस्थामा दलीय अनुशासन मान्दैन, संवैधानिक सर्वाेच्चता मान्दैन, सर्वाेच्च अदालतको फैसला मान्दैन, अनुशासन/विधि/पद्धतिलाई एमालेले मान्दैन ।’ 

उनले यही शैलीका कारण एमाले अध्यक्ष ओली क्रमशः समाप्तिको बाटोमा हिँडिरहेको टिप्पणी गरे । ‘यस्तै–यस्तै नचाहिँदा हर्कत गरिरहेका छन् । आफ्ना हनुमान र दासहरूलाई मात्रै पार्टी कमिटीमा राख्ने, अरूलाई पार्टीमा स्थान नै दिन नचाहने उनको प्रवृत्ति हो,’ उनले भने । आलोचना गर्नेप्रति इख राखेर बदलाको भावना राख्नेले आफू भएको ठाउँमा जाँदैनौँ भन्नुको कुनै तुक नभएको उनको भनाइ छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूसँग सरकार र सभामुखले एक्लाएक्लै संवाद गर्नुपर्ने र अन्य दलहरूलाई साक्षी राखेर आफ्नो पार्टी वार्तामा नबस्ने बताए । ‘सत्तापक्ष वा सभामुखले हाम्रा आपत्तिलाई आधार बनाएर समाधानमुखी तरिकाले एमालेसँग डाइरेक्ट संवाद गर्दा भइहाल्छ नि ! अरू गठबन्धनलाई भेला पारेर, अरू सबैलाई साक्षी राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन । त्यो जरुरी हामी ठान्दैनौँ,’ भट्टराईले भने । 

गत ३२ साउनमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार २ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशअनुसार २० प्रतिशत केन्द्रीय सदस्य र संसदीय दलको संख्या पु¥याएर निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले ४ भदौमा परेको निवेदनका आधारमा ९ भदौमा सांसद र केन्द्रीय सदस्यको सनाखत गरी एकीकृत समाजवादी दर्ता भएको प्रमाणपत्र दिएको थियो । निर्वाचन आयोगकै निर्णय र निर्देशनबमोजिम देशभरका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले समेत २१ भदौसम्म उल्लेख्य मात्रामा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् । 

साथै, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आएपछि त्यसविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले ५ असोजमा नै अन्तरिम आदेश दिनसमेत अस्वीकार गरिसकेको छ । एउटा अर्को मुद्दामा समेत अदालतले ८ भदौको सुनुवाइमार्फत आयोग र सभामुखले गरेका निर्णयको सक्कल माग गरिसकेको छ । 

यद्यपि, अध्यादेश खारेज पनि भइसकेको र त्यसविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको अवस्थामा त्यससँग बाझिने गरी कुनै निर्णय अदालतबाट आउने सम्भावना देखिँदैन । तर, एमाले भने एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिनसमेत तयार देखिँदैन ।

अध्यादेश जारी भएको करिब डेढ हप्तापछि निर्वाचन आयोगले एमालेका २० प्रतिशत संघीय सांसद र केन्द्रीय सदस्यको सनाखत नै गरेर दल दर्ताको प्रमाणपत्र दिएको थियो । तर, अध्यादेश जारी भएको दुई दिनदेखि नै एमाले भने संघीय संसद्का सभामुखमाथि केन्द्रित भएर विरोध गरिरहेको छ ।

See More On

सुझावित समाचार