जबज अहिले पनि सान्दर्भिक : बादल

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए। 

महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए। 

‘जबजको कार्यक्रममा त्यसवेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो, त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रूपहरूलाई जबजको कार्यक्रम हो, पहिलो कार्यक्रम, हामीले जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि, गणतन्त्रको स्थापना गरिसकेपछि हामीले सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने कार्यक्रमहरू लागू गर्नुपर्छ भन्ने कुरा त्यसैवेला तय गरिएको थियो,’ उनले भने,  ‘जबजको कार्यक्रमको रूपमा, २०४९ सालको कुरा हो, पाँचौँ महाधिवेशनमा अघि सारिएको थियो, मदन भण्डारी कमरेडद्वारा प्रस्तुत गरिएको कार्यक्रम थियो, दोस्रो, क्रान्तिकारी उपलब्धिहरूलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्ने कार्यक्रमभन्दा राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादक शक्तिहरूको विकास गर्ने, हामी एकैपटक समाजवादी कार्यक्रम लागू गर्न सक्दैनौँ, त्यसकारण समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरू विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरू विकास गर्न जरुरी छ, त्यसकारणले यसलाई राजनीतिक उपलब्धिहरूलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पुँजीको विकास गर्ने कुराहरूलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू अघि लिएर जानुपर्छ।’

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार के हो भन्ने कुराको संश्लेषण गरिएको बताए। उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए।  स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीतिअन्तर्गतकै भएको बताए।  
 

See More On

सुझावित समाचार