विद्युत् अवरुद्ध हुँदा हुम्लाको सिमकोट एक सातादेखि अन्धकार

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

एक सातादेखि विद्युत् अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ । मर्मत गरेको एक साता नपुग्दै पुन: विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो । 

०६३ सालमा जडान गरिएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका उपभोक्ताहरू प्रत्यक्ष रूपमा मार्कामा पर्दै आएका छन् । 

विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा गैरसरकारी संस्था, उद्योग, सञ्चारमाध्यम प्रभावित भएका छन् । बिजुली नहुँदा अनलाइनबाट कामकाज हुँदै आएका सरकारी सेवामा समेत अवराेध भएको छ । हिल्दुम साना लघु जलविद्युत् आयोजना बर्सेनि मर्मतसम्भार हुँदै आएको छ । तैपनि समस्याको पूर्ण समाधान भएको छैन । 

हिल्दुम साना लघु जलविद्युत् वितरण केन्द्रबाट सेवा लिएका दुई हजार सात घरपरिवारका उपभोक्ता बर्सेनि मर्कामा पर्दै आएका छन् । गत मंसिर महिनासम्म  दुई हजार सात घरपरिवारले यसै  वितरण केन्द्रबाट सेवा लिएका छन् ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ८ बाहेक सिमकोट गाउँपालिकाभित्रका ठेहे, दोजाम, बरगाउँ, तोर्पो, निमाटाङ, लाङदु, टल्की, बुराँउसे, हिल्दुम, सिमकोट डाँडाफया र खार्पुनाथ गाउँपालिका छिप्रा, माझ, लेख र याङचु बजारका उपभोक्ताले  यसै वितरण केन्द्रकाे बिजुली बाल्दै आएका छन् ।  

सुझावित समाचार