एनआरएनए अध्यक्षका प्रत्याशी बद्री केसीको प्यानलमा को–को छन् ?

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघका अध्यक्षका प्रत्याशी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन्। रसियानिवासी व्यवसायीसमेत रहेका वर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन्। डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरू (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरूको टुंगाे लागेको छ।

उपाध्यक्षका उम्मेदवारहरूमा डा. हेमराज शर्मा (युके), महेशकुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अस्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षमा यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन्।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ। जोशी वर्तमान कार्यसमितिका सचिवसमेत हुन्। एक महिला अनिवार्यसहितको चारजना सचिव पदका उम्मेदवारहरूमा रामशरण सिम्खडा (युके), चिरञ्जीवी घिमिरे (क्यानडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टीका) गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ। सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बाँकी छ। तर, महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका)को नाम चयन भएको छ। यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (युके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्यान्ड) ले उम्मेदवारी दिने भएका छन्।

क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेदवारहरूबारे पछि निर्णय गर्ने डा. केसीको सचिवालयले जनाएको छ। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि बेलायतका व्यवसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्। 
 

See More On

सुझावित समाचार