भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख काठमाडौंमा

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तब मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तबको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसमेत तीनजना सहभागी छन् । नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी आएका हुन् । 

कूटनीतिक स्रोतका अनुसार श्रीवास्तबले  बुधबार काभ्रेमा भारतीय सहयोगमा निर्मित विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल र भारतबीच निर्माणाधीन परियोजना कार्यान्वयनको प्रगति तथा विगतमा भएका तर कार्यान्वयन हुन बाँकी भएका सम्झौताबारे छलफल हुनेछ। 

श्रीवास्तबले परराष्ट्र मन्त्रालयमा उनका समकक्षी सहसचिव तीर्थराज वाग्ले, कार्यबाहक परराष्ट्रसचिव प्रकाशकुमार सुवेदी, अर्थसचिव मधु मरासिनी एवं वैदेशिक समन्वय महाशाखा हेर्ने अधिकारी, ऊर्जा, भौतिक पूर्वाधार तथा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

‘नेपालसँग सम्बन्धित सबैजसो संयन्त्रको समन्वय विदेश मन्त्रालयको नर्थ डिभिजनले गर्दछ, विकास सहायता, व्यापारदेखि सबै विषयको लगाम उत्तरी डिभिजनसँग हुन्छ’ जानकार एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘त्यसकारण उनी यहाँ सरोकारवाला निकायका सम्बन्धित पदाधिकारीसँग परिचय गरौँ भर्ने मनसायले पनि आएका हुन् ।’ नेपाल र भुटान डेस्क प्रमुखका रूपमा उनको यो पहिलो भ्रमण हो । उनीअघिका नर्थ डेस्क प्रमुख अरिन्दम बाग्चीबाहेक सबैजसो अधिकारीहरूले नेपालको परिचयात्मक भ्रमण गरेका छन् । उनी शुक्रबार स्वदेश फर्किनेछन्।
 

सुझावित समाचार