भेटेरिनरी डाक्टर जसले माछापालनबाटै लाखौँ आम्दानी गरिरहेका छन्

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

दाङका बजारमा माछाको एउटा ब्रान्ड  छ– ‘गौरीगाउँको माछा ।’ बजारमा बेच्न  ल्याएका माछालाई  ग्राहकले सोध्ने गर्छन् ‘गौरीगाउँको माछा हो ?’ गौरीगाउँकै माछा भनेपछि नकिन्ने  बिरलै  हुन्छन्। यो ‘ब्रान्ड’का माछाका उत्पादक हुन्, स्थानीय युवा यादव भण्डारी।

तुलसीपर उपमहानगरपालिका–१०  निवासी भण्डारीले ‘भण्डारी माछा पालन एन्ड कृषि फर्म’मार्फत आफ्नै जग्गामा व्यवसायिक  रूपमा  माछापालन  गरेका छन् । उनले पालेका माछाको दाङका बजारमा निकै माग छ। उनी पछिल्लो सात वर्षदेखि माछापालनमा सक्रिय छन् । उनले एक विघा क्षेत्रफलमा तीनवटा पोखरी बनाएर माछा पालेका छन्। यसबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएको उनी बताउँछन्। उनले पालेका माछा दाङमा मात्रै नभएर बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन्।

भण्डारीले माछासहित थारू समुदायको पहिचानको रूपमा रहेको घुँङी पनि उत्पादन गर्ने गरेका छन्। यो वर्ष मात्रै करिब तीन क्विन्टल घुँङी विक्री वितरण गरिसकेको उनी बताउँछन् । उनले अब छिट्टै आफैँले दाङमा नै माछाका भुरा उत्पादन गर्ने तयारी गरिरहेका छन् । अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाईंदैन।

माछापालकसँगै भेटेरिनरी डाक्टर पनि
भण्डारी  माछापालक मात्रै होइन्, भेटेरिनरी डाक्टर पनि हुन् । उनको माछापालन क्षेत्र कृषकलाई परामर्श तथा विद्यार्थीहरूको प्रयोगात्मक गर्ने थलो पनि बनेको छ। चितवनमा भेटनरी पढ्दै गरेका विद्यार्थीहरू प्रयोगात्मकका लागि उनीकहाँ आउने गरेका उनी बताउँछन् ।

त्यति मात्रै होइन, अहिले भण्डारी ठाउँठाउँ गएर आफैँ तालिम पनि दिन्छन् । ‘कहिले चितवन, कहिले नवलपुर गएर किसानलाई तालिम दिने गरेको छु,’ उनले भने, ‘समय व्यवस्थापन गरेर काम गरिरहेको छु।’

धेरै युवाहरू बेरोजगार भएर भौँतारिरहेका छन्, भने केही युवाहरू आफ्नो ऊर्जावान समय अर्काको देशमा खेर फालिरहेका छन्। तर, भण्डारीले आफ्नै देशमा कुनै न कुनै पेसा अँगालेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने हेतुले यो पेसा अँगालेको बताउँछन् ।

सुझावित समाचार