शैक्षिक परामर्श व्यवसायीहरूले व्यवसायिक हित प्रवर्द्धनका लगि नयाँ संगठन निर्माण गरेका छन् । व्यवसायीहरूले नेकपा एमालेनिकट रहेर प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) गठन गरेका हुन् ।
शैक्षिक परामर्श व्यवसायीहरूलाई गोलबद्ध गर्ने उद्देश्यले गठन गरिएको पिक्यानको राष्ट्रिय अधिवेशनका लागि ५१ सदस्यीय आयोजक कमिटी बनेको छ। जसमा संयोजक विष्णु पोखरेल र सहसंयोजक राजन श्रेष्ठ रहेका छन्। पिक्यान गठनका लागि प्रारम्भिक रूपमा पोखरेल र श्रेष्ठसहित बुद्धिप्रसाद रेग्मी, वासु नेपाल, सुदन चौहान, विकल्प पोखरेल र आरसी ओलीको भूमिका छ ।
पिक्यानलाई प्रभावकारी रूपमा व्यवसायीहरू माझ पुर्याउन उपत्यका विषेश कमिटीसमेत गठन गरिएको छ । दया थापाको अध्यक्षतामा ३७ सदस्यीय उपत्यका विषेश कमिटी गठन गरिएको हो ।
उपत्यका कमिटी, प्रदेश कमिटी हुँदै पिक्यानको राष्ट्रिय कमिटी बन्ने बताइएको छ। पिक्यानले उपत्यका विषेश कमिटीको कार्य समिति चयन गर्दै सातै प्रदेशमा संयोजक र सहसंयोजकसमेत तोकेको छ ।
व्यवसायीको हकहित प्रवर्द्धन र क्षमताको विकास गराउने उद्देश्यका साथ पिक्यान निर्माण गरिएको संयोजक पोखरेलले बताए । पिक्यानको आफ्नो अलग्गै पहिचान र अस्तित्व हुने भन्दै पोखरेलले कोही कसैसँग प्रतिस्पर्धा नहुने बताए।
पिक्यानका संस्थापक एवं फेकनका अध्यक्ष बासु नेपालले परामर्श व्यवसायी संघलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारी भएपछि पनि समस्या जस्ताको तस्तै रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन नेपाल सरकार र पार्टी प्रवक्ता ज्ञवालीको ध्यानाकर्षण गराए।
पिक्यानका संस्थापकमध्येका एक सुदन चौहानले पार्टीको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघअन्तर्गत स्थापित पिक्यानले व्यवसायिक हित प्रवर्द्धनका लागि सदस्यता विस्तार गर्दै लैजाने र व्यवसायीहरूको सक्रिय सहभागितालाई जोड दिएको बताए।