बाँकेका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन्। जिल्लामा रहेका दुई सय २१ सामुदायिक र दुई सय ९८ संस्थागत विद्यालय सञ्चालनमा आएका हुन्।
जिल्ला शिक्षा समन्वय अधिकारी रामसुरेश यादवका अनुसार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को सिफारिसमा स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएको हो। कोरोनाको जोखिम नभएको पालिकामा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको जानकारी स्थानीय तहले जिल्ला समन्वय कार्यालयलाई गराएका उनले बताए।
विद्यालयहरूले पठनपाठन सुरु गर्नुअघि विद्यालयले कक्षाकोठा निर्मलीकरण गर्नुपर्ने, विद्यालय हाताभित्र साबुनपानीको व्यवस्था गर्नुपर्ने, सात दिनमा एकपटक विद्यार्थीको शरीरको तापक्रम मापन गर्नुपर्ने, एउटा बेन्चमा दुईजनाभन्दा धेरै राख्न नपाइने तथा अनिवार्य मास्क लगाउनुपर्नेछ।
तर, जिल्लाका अधिकांश विद्यालयले कक्षाकोठा निर्मलीकरण नगरेको गुनासो आएको यादवले बताए। यद्यपि, अनुगमनका क्रममा त्यस्तो नभेटिएको उनले स्पष्ट परे। ‘निर्मलीकरण नगरेर विद्यालय सञ्चालन गरेको गुनासो छ। तर, अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको देखियो,’ उनले भने।
हतारमा विद्यालय खोल्दा जोखिममा कोहलपुरका विद्यार्थी
कोहलपुर नगरपालिका कोरोनाको जोखिम क्षेत्रको सूचीमा छ। यो नगरपालिका कोरोनाको ‘एल्लो’ जोनमा छ। तर, यहाँका विद्यालय सञ्चालनमा आइसकेका छन्। विद्यालय खोलेको दुई हप्ता नबित्दै विद्यार्थीमा अत्यधिक ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ।
सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना भए–नभएबारे अनुगमनसमेत हुन सकेको छैन। नगरपालिकाले विद्यालय सञ्चालन गर्नुअघि सावधानी नअपनाएको अभिभावकले गुनासो गरेका छन्। ‘विद्यालय सञ्चालन गर्नुअघि कक्षाकोठा निर्मलीकरण, विद्यालय प्रांगणमा हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाएको देखिन्न। नगरपालिकाले नियमित अनुगमन पनि गरेको छैन,’ कोहलपुर नगरपालिका– १० का भीमलाल थापाले भने।
कोहलपुर नगरपालिकालाई विद्यालय खोल्न हतार नगर्न जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रले सुझाबसमेत दिएको थियो। तर, नगरपालिकाले हतारमा विद्यालय खोल्ने अनुमति दिएको अभिभावक बताउँछन्।