कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा दाङमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बराबर स्थानीय तहमा जित हात पारेका छन् । १० वटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा देउवा पक्षले विजयी हासिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष विजय बनेकाे छ । पौडेलनिकट दीपक गिरीका चार स्थानीय तहसँगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी रहेका छन् । तीमध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, देउवा समूहका घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावतले विजयी हासिल गरेका छन् । उनी जिल्लामा राजु खनालनिकट मानिन्छन् । त्यस्तै, लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवानिकट हुन् । उनी ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्न सफल भएका थिए । त्यस्तै, राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडेल र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् ।
बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा दीपक गिरीनिकट सुरेश हमालले विजयी भएका छन् । त्यस्तै, दीपककै नातेदार रहेका शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हासिल गरे । त्यस्तै, बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दीपक गिरीनिकट हुन् । यी चार स्थानीय तहहरू दाङ क्षेत्र नं. ३ मा पर्छन् । शशांक कोइरालासँग नजिक रहेका गिरी रामचन्द्र पौडेलपक्षीय नेता हुन् ।