आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आज आइतबारदेखि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको असोज ५ गते बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो। मन्दिर गत वैशाख महिनादेखि बन्द गरिएको थियो।

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए।

‘स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ,’ उनले भने, ‘विदेशीका लागि सात दिनभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।’

बडादसैँको सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन्।  कोरोना संक्रमण फैलिएपछि ०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो।

१८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र संक्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो।

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटेल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ। मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरूको चहलपहल बढेको छ। कोराेनाका कारण मुक्तिनाथ मन्दिरनजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन्। रासस

सुझावित समाचार