गत असारमै सकिनुपर्ने ‘काठमाडौं भ्युटावर’ आधा पनि बनेन

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण
गत असारमै सकिनुपर्ने ‘काठमाडौं भ्युटावर’ आधा पनि बनेन

काठमाडौंको रत्नपार्कस्थित बन्दै गरेको भ्युटावर । तस्बिर : संजीत परियार/नयाँ पत्रिका

काठमाडौं महानगरपालिका भन्छ– ठेकेदारले रोयल्टी तिरिरहेकाले हामीले बोल्न मिल्दैन, लिजमा दिएको समय २५ वर्षसम्म बनाए हुन्छ

गत असार मसान्तसम्म रत्नपार्कस्थित पुरानो बसपार्कमा १२ तले काठमाडौं भ्युटावर ठडिसक्नुपर्ने थियो । तर, भदौ बितिसक्दा ६ तला पनि निर्माण सम्पन्न हुन सकेको छैन । जनप्रतिनिधि नआउँदै सुरु भएको काठमाडौं भ्युटावर निर्माण अलपत्र परिरहँदा काठमाडौं महानगरपालिका भने अझै समय बाँकी भएको भन्दै पन्छिन खोजिरहेको छ ।

महानगरपालिकाको ठीकअगाडि निर्माण भइरहेको काठमाडौं भ्युटावर निर्माणको समय अझै भएको महानगर बताउँछ । ‘हामीले गरेको सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न नहुँदा के हुन्छ भनेर कहीँकतै उल्लेख छैन । २५ वर्षसम्मको लिज अवधि छ । त्यसको समय कसरी सकिन्छ ?’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘निर्माण अवधि पाँच वर्ष तोकिएको छ । तर, पाँच वर्ष सकिएपछि निर्माण गर्न पाउँदैन भनेको छैन । अब निर्माण गर्न नदिने भनेर कतै पनि लेखिएको छैन ।’

पाँच वर्ष सकिएपछि ठेकेदार कम्पनीलाई निर्माण गर्न पाउँदैन भनेका छैनौँ : ईश्वरमान डंगोल प्रवक्ता, काठमाडौं महानगरपालिका

पाँच वर्षमा निर्माण सम्पन्न नहुँदा के हुन्छ भनेर सम्झौतामा कहीँकतै उल्लेख छैन । २५ वर्षसम्मको लिज अवधि छ, त्यसैले अहिले नै समय कसरी सकिन्छ र ? निर्माण अवधि पाँच वर्ष तोकिएको छ । तोकिएको अवधि सकिएपछि पनि ठेकेदार कम्पनीले निर्माण गर्न पाउँदैन भन्ने होइन ।

काठमाडौं महानगरपालिका भने ठेकेदार कम्पनीले रोयल्टी तिरिरहेकाले आफूले बोल्न नमिल्ने दाबी गर्छ । ‘सम्झौताअनुसार निर्धारित समयमै टावर बनाइसकेको भए आकर्षक देखिन्थ्यो, महानगरले गरेको काम समयमै सकियो भन्ने कुरा हुन्थ्यो,’ उनले भने, ‘ठेकेदार कम्पनीले कुन वर्ष कति रोयल्टी तिर्ने भनेको हो । त्यो उल्लेख गरिएको छ । सोअनुसार रोयल्टी तिरिरहेको छ । त्यो तिरुन्जेल त बनाओस् कि नबनाओस्, हामी बोल्नै पाउँदैनौँ ।’ काठमाडौं भ्युटावरको निर्माण जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले गरिरहेको छ । उसले निर्माण छिटो सक्न भन्दै आइडिया फोर नेपाल, मिग नेपाल प्रालिलगायतलाई काममा सहभागी गराएको छ ।

१० वर्षअघि यसरी सुरु भएको थियो टावर बनाउने निर्णय
२६ असार ०६८ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसामा पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा काठमाडौं भ्युटावर निर्माण गर्ने निर्णय पारित गर्‍यो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । आठ कम्पनीले टेन्डर हाले । सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । भवनको आवश्यकता नभएको, ठेक्कामा प्रक्रिया मिचिएकोलगायत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । २८ मंसिर ०६९ मा अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो । सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमुनिसहित तीन तला पार्किङ गर्नेलगायत निर्देशनसहित आयोगले २४ वैशाख ०७० मा रोक्का फुकुवाको पत्र पठायो ।

कलंकी र गोंगबुमा आकाशेपुल बनाएका मनोज भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको, उनीसँग त्यत्रो भवन बनाउने पैसा नै नभएकोलगायतका विषय उठाएर संसद्को सार्वजनिक लेखा समितिमा उजुर पर्‍यो । ४ फागुन ०७१ को लेखा समितिले नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दिएर पत्र लेख्यो । महानगरपालिकाले २२ फागुन ०७१ मा कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता ग¥यो । ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि सहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बताएपछि ०७२ भदौमा महानगरले १२ तले भवनको नक्सा पास गर्‍यो । सोही वर्ष २५ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्युटावरको शिलान्यास गरेका थिए ।

अझै डेढ वर्ष बसपार्क बनाउन नसकिने
आयोजनाअनुसार दुईतले भूमिगत पार्किङ हुनेछ, जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ बनाउने योजना छ । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय पनि हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण गरिने बताइएको छ । दुईतले भूमिगत पार्किङ बन्न पनि अझै डेढ वर्ष लाग्ने भएको छ । 

उपमेयर हरिप्रभा खड्कीसहित पाँच सदस्यीय टोलीले बुझाएको प्रतिवेदनअनुसार रामेछाप, सिन्धुलीलगायतका ठाउँबाट आउने लामो दूरीको सवारीलाई तीनकुने अगाडिको मनोहरा खोला किनारमा पार्क गरिने भएको छ । ‘काठमाडौं भ्युटावरको अहिलेको अवस्था के हो भन्ने जानकारी भएन । तर, त्यहाँ बसपार्क बनाउन नसकिने भएपछि हामीले पूर्वबाट आउने सवारीसाधन पार्क गर्न मनोहरा खोला उपयुक्त हुन्छ भनेर प्रतिवेदन मेयरसापलाई बुझाएका छौँ । टावरको भूमिगत पार्किङ अझै डेढ वर्ष सञ्चालनमा आउन सक्ने अवस्थामा छैन,’ उपमेयर खड्गीले भनिन् । ०७४ देखि बसपार्क खुलामञ्चमा सारिए पनि चौतर्फी विरोधपछि गत १५ वैशाखबाट खुलामञ्चमा बस प्रवेशका लागि रोक लगाइएको थियो । ४० कम्पनीका ६ सय सवारीलाई ‘पिक एन्ड ड्रप’का आधारमा सञ्चालन गरिएको छ । 

अझै नियुक्त भएन स्वतन्त्र इन्जिनियर
सम्झौतापत्रमा स्वतन्त्र इन्जिनियर नियुक्त गर्ने व्यवस्था छ । तर, अझै पनि महानगरको तर्फबाट इन्जिनियर नियुक्त हुन सकेको छैन । जसकारण ठेकेदार कम्पनीले काठमाडौं भ्युटावर कसरी बनायो, गुणस्तरलाई ध्यान दियो कि दिएन भन्ने आशंका उत्पन्न हुने देखिन्छ । भ्युटावर मापदण्डअनुसार बन्दै छ÷छैन वा यसमा आवश्यकताअनुसारको सामान प्रयोग भयो वा भएन भन्ने जाँच गर्न महानगरले तेस्रो पक्ष अर्थात् स्वतन्त्र इन्जिनियरिङ नियुक्त गर्न नसकेपछि महानगरले राजस्व विभाग प्रमुखसहित तीन सदस्यीय टोलीलाई गत वैशाखमा काठमाडौं भ्युटावरको अवस्थाबारे अवलोकन गर्न लगाएको थियो । अवलोकनबाट जुन तरिकाबाट निर्माण हुनुपर्ने हो, त्यही तरिकाबाट निर्माण भइरहेको प्रारम्भिक प्रतिवेदन आएको महानगरले जनाएको छ । 

प्रवक्ता डंगोलका अनुसार स्वतन्त्र इन्जिनियर नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ । ‘स्वतन्त्र इन्जिनियर नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ । प्राविधिक काम कति भएको छ । गुणस्तर व्यवस्थापन भएको छ कि छैन हेर्नका लागि स्वतन्त्र इन्जिनियर नियुक्त गर्नुपर्ने हो । त्यसका लागि तीस दिने सूचना निकाल्नुपर्छ । क्षमतावान् व्यक्तिहरूले निवेदन दिन्छन् । छनोट गर्दा दुई–तीन महिना लाग्न सक्छ,’ उनले भने । 

भवनको जग मापदण्डअनुसार नबने संरचना कच्चा हुने र जाँचबुझ नहुँदा ठेकेदारको एकपक्षीय जाँचले भवनको गुणस्तरमै शंका हुने विज्ञहरू बताउँछन् । अनुगमनका लागि अहिलेसम्म कुनै टोली नभएकाले भोलि समस्या आउन सक्ने वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले पनि बताउँछन् । ‘पहिला पनि काम ढिला भएकाले वडावरपर फोहोर, धुलो, धुवाँ भयो । आवतजावतमा अप्ठ्यारो भयो भनेर हामीले महानगरमा पटकपटक भन्यौँ । काम छिटो गर्न पहल ग¥यौँ,’ खड्गीले भने, ‘अहिले काम त भइरहेको छ । तर, त्यो कस्तो भइरहेको छ भनेर अनुगमन टोली बनाइदेऊ भनेको अझै बन्न सकेको छैन । हामीलाई सुन्ने होइन । आफ्नै कार्यालयअगाडि निर्माण भइरहेको टुलुटुलु हेर्नेबाहेक अरू उपाय छैन ।’ 

महानगर स्रोत भने सुरुमा जुन तरिकाबाट निर्माण हुनुपर्ने हो, सो तरिकाबाट निर्माणका लागि स्वतन्त्र इन्जिनियर नियुक्त नगरिएकाले ६ तलाभन्दा माथि निर्माण हुनेमा आशंका व्यक्त गर्छ । ‘सुरुमा निर्माण हुँदा जुन तरिकाले निर्माण थालियो । अवलोकन मानिस ठेकेदार कम्पनीको मात्र भयो । त्यसैले अब काठमाडौं भ्युटावर यो ६ तलाभन्दा माथि नजाने पक्का छ,’ स्रोतले भन्यो ।

सुझावित समाचार