भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच ह्वाइटहाउसमा शनिबार ९० मिनेट वार्ता भएको छ । ‘सबैभन्दा ठूलो’ र ‘सबैभन्दा पुरानो’ लोकतन्त्रका प्रतिनिधिबीच भएको वार्तामा दुई देशबीच रणनीतिक साझेदारीदेखि कोभिड १९विरुद्धको खोपमा सहकार्यका विषयमा छलफल भएको छ । दुई शीर्ष नेताबीच औपचारिक वार्ताअघिको एकान्त वार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
बाइडेनले अमेरिका–भारत सम्बन्धको इतिहासमा नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । उनले भेटवार्तापछि ट्विटरमा भनेका छन्, ‘हाम्रा दुवै मुलुक दुनियाँका सबैभन्दा ठूला लोकतन्त्र हुन् र लोकतन्त्रका लागि कठिन चुनौती सामना गर्न पनि प्रतिबद्ध छन् ।’ प्रधानमन्त्री मोदीले पनि वार्ता उत्कृष्ट भएको बताएका छन् । मोदीको भनाइ छ, ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकी राष्ट्रपतिको नेतृत्व सराहनीय छ । हामीले भारत र अमेरिकाबीच विभिन्न क्षेत्रमा सहकार्य कसरी अघि बढाउने, जलवायु परिवर्तनजस्ता मुख्य चुनौतीको सामना गर्न कसरी मिलेर काम गर्ने भन्ने विषयमा छलफल गरेका छौँ ।’
भेटवार्तापछि भारतीय विदेश सचिब हर्षबर्धन शृंगलाले पत्रकारहरूलाई दिएको जानकारीअनुसार दुवै शीर्ष नेताले लोकतान्त्रिक मूल्य र साझा रणनीतिक हितका लागि ब्यापक वैश्विक राण्नीतिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । साझा प्रतिबद्धता थप मजबुत बनाउन पनि उनीहरू सहमत भएको श्रृंगलाले जानकारी दिए । दुवै नेताले कोभिड १९ को प्रतिकार्यका विषयमा आआफ्ना मुलुकको अनुभव पनि आपसमा बताएका छन् । कोभिड १९ महामारीमा अमेरिकाले गरेको सहयोगप्रति मोदीले बाइडेनलाई धन्यवाद दिएका छन् । बाइडेनले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि भारत सरकारले अपनाएका कदमहरूको प्रशंसा गरेको पनि श्रृंगलाले जानकारी दिएका छन् । भारतीय खोप गुणस्तरीय, सस्तो भएकोमा प्रशंसा गर्दै बाइडेनले भारतले अक्टोबरदेखि खोपको निर्यातमा प्रतिबध हटाउने निर्णय गरेकोमा पनि धन्यवाद दिएका छन् ।
भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा अमेरिका र भारतले स्वतन्त्रता, बहुलवाद, खुलापन, मानवअधिकारका समान मूल्यका लागि प्रतिबद्धता दोहोर्याएका छन् । बाइडेनले भारतप्रति आफ्नो अटुट प्रतिबद्धता प्रकट गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भविष्यमा आउने महामारीको जोखिम कम गर्न महामारीको तयारी र बायोमेडिकल अनुसन्धानलगायत विश्वव्यापी स्वास्थ्यलाई असर गर्ने प्रमुख क्षेत्रहरूमा सहयोग बढाउन स्वास्थ्य र बायोमेडिकल विज्ञानसम्बन्धी व्यापक समझदारी पत्रलाई अन्तिम रूप दिन पनि भारत र अमेरिकाले प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपति बाइडेनले सन् २०३० सम्म ४५० गिगावाट नवीकरणीय ऊर्जा स्थापना गर्ने घरेलु लक्ष्य हासिल गर्ने प्रधानमन्त्री मोदीको प्रयासलाई समर्थन जनाएका छन् । राष्ट्रपति बाइडेनले अमेरिका र भारत बीच रक्षा सम्बन्धको अपरिहार्यतामा जोड दिँदै रणनीतिक साझेदारको रूपमा भारतप्रति अटूट प्रतिबद्धता जनाएका छन् । उनले सूचना आदान प्रदान, लजिस्टिक एवं सेनाहरूबीच अन्तरक्रिया र साझेदारी, सेनाहरूबीच सहयोग सुदृढीकरणका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनीहरूले उन्नत औद्योगिक सहयोगमा जोड दिँदै प्रतिरक्षा प्रविधि र व्यापारको पहलकदमीअन्तर्गत सहकार्यमा प्रतिबद्धता जनाएका छन् । उनीहरूले सरकार र निजी सरोकारवालाहरूलाई रक्षा उद्योगमा नवीनता र उद्यमशीलता बृद्धि गर्न प्रोत्साहन गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनीहरूबीच औद्योगिक सुरक्षा सम्झौता शिखर सम्मेलन आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।
उनीहरूबीच अफगानिस्तानका विषयमा पनि छलफल भएको छ । अफगानिस्तानले आफ्नो भूभाग अरू देशलाई धम्की दिन वा आक्रमण गर्न वा आतंकवादीहरूलाई आश्रयस्थल बनाउन नदिने कुरामा प्रतिबद्धता जनाउनुपर्नेमा उनीहरूको जोड थियो । आतंकवादीहरूलाई आर्थिक वा राजनीतिक संरक्ष्ण नगर्ने सुनिश्चितता तालिवान सरकारले गर्नुपर्नेमा उनीहरूबीच एकमत थियो । अफगानिस्तानबाट सबै विदेशी नागरिकको सुरक्षित र व्यवस्थित बहिर्गमनमा अवरोध नगर्न, महिला, बालबालिका तथा सबै अफगान नागरिकको मानवअधिकारको सम्मान तथा त्यससम्बन्धी प्रतिबद्धताको पालन गर्न पनि उनीहरूले जोड दिएका छन् ।
उनीहरूबीच बर्माको लोकतन्त्रका पक्षमा प्रतिबद्धता जनाउनदेखि विश्वका राजनीतिक घटनाक्रमबारे सविस्तार छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।