वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छिन्। लिमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट राजनीतिमा प्रवेश गरेकी छिन्।
एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । उनी यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । लिमा नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिवसमेत हुन् ।
लिमाले ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् । ‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौमहिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैँ बनाऔँ, महिलाका नाममा घरजग्गाको स्वामित्वजस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ,’ उनले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन् ।’
राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनले बताइन् ।
लिमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लिमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।
यस्तै, लिमाका ससुरा कृष्ण आचार्य स्थापित व्यवसायी हुन् । आचार्य ०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायिका थिए । उनी हाल स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था (इपान)का अध्यक्ष छन् ।