१४औँ महाधिवेशनबारे रणनीति तय गर्न कांग्रेस महामन्त्री शशांक कोइराला,उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच भेटवार्ता सम्पन्न भएको छ । शुक्रबार साँझ महामन्त्री कोइरालानिवास महाराजगन्जमा तीन नेताबीच भेटवार्ता सम्पन्न भएको हो ।
भेटमा नेताहरूबीच महाधिवेशन र सहमतिमा नेतृत्व चयनलगायतका विषयमा छलफल भएको बताइएको छ । तीनै नेताले आफूलाई महाधिवेशनमा सभापतिको आकांक्षीको रूपमा प्रस्तुत गर्दै आइरहेका छन्।
छलफलमा १३ जिल्लाको क्रियाशील सदस्यता, सहमतिमा नेतृत्व चयन, सरकारको कारण पार्टीमाथि भइरहेको नकारात्मक टीकाटिप्पणीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाइ ध्यानाकर्षण गराउने, भेटवार्तालाई, निरन्तरता दिने र निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नेलगायतका विषयमा छलफल भएको थियो ।
त्यस्तै, भेटमा अन्य नेताहरूलाई पनि सहभागी बनाउने र नेतृत्वमा सहमति जुटाउनेबारे छलफल भएको बताइएको छ । महाधिवेशनको विषयलाई लिएर यसअघि समेत निधि, कोइराला र सिंहबीच पटक पटक छलफल र भेटघाट हुँदै आएको छ।