नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पदाधिकारी बैठकको निर्णयमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया दिँदै उनले पदाधिकारी बैठकको निर्णयमाथि प्रश्न उठाएका हुन् ।
पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका २१ हिमाली जिल्लामा दसैँअगाबै जिल्ला अधिवेशन सक्ने र अरू जिल्लामा पछाडि सार्ने निर्णय गरेको थियो । ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुपर्नाको कारण के हो ?’ उनको प्रश्न छ, ‘सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ?’
उनले महाधिवेशनबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई नभएको बताएका छन् । ‘अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’ उनले भनेका छन् ।
पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन भन्ने आशंकासमेत उनले व्यक्त गरेका छन् । उनले पदाधिकारी बैठकको निर्णय सच्याउन मागसमेत गरेका छन् ।
साथै, क्रियाशील विवाद समाधानमा भइरहेकाे ढिलाइलाई समेत उनले शंका गरेका छन् । ‘क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो।’