कक्षामा सिद्धान्तको बहस

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

‘विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्र प्रोटोकल फ्री एरिया हो, यहाँ प्रवेश गरिसकेपछि सबैको हैसियत समान हुन्छ ।’ राजनीतिशास्त्रका गुरु तथा प्राध्यापक कृष्ण खनालको भनाइसँगै हामी आ–आफ्ना जात, क्षेत्र, वर्ग, वर्ण, हैसियत र ओहदालाई थाती राख्दै समान हुने प्रक्रियामा प्रवेश गर्छौं ।

ग्रिक दार्शनिक सोक्रेटसदेखि माक्र्स हुँदै माओ र गान्धीसम्मका पूर्वीय तथा पश्चिमा दार्शनिक तथा चिन्तकबारे आ–आफ्ना सीमित ज्ञान र बुझाइबीच सहभागीको सघन अन्तर्क्रिया  दर्शन शास्त्रका प्राध्यापक विदुर फुँयालले अगाडि सारेको लामो सन्दर्भ सूचीसहितको सोक्रेटसको ‘सत्यको खोजी र प्रज्ञाको जिज्ञासा’बाट हाम्रो दार्शनिक, सैद्धान्तिक छलफल तथा सिकाइको क्रम आरम्भ हुन्छ । ‘यो किन्डरगार्टेन (बाल–सदन) कक्षा हो, जहाँ कसैले कसैलाई सिकाउँदैन जसले जे जाने–बुझेर आएको छ, त्यही कला प्रस्तुत गर्छ ।’ यसरी प्राध्यापक कृष्ण हाछेथुले कक्षाको व्याख्या गर्नुहुन्छ । उदारवादले जसरी समानता, स्वतन्त्रता, साझा नागरिकता (कमन सिटिजनसिप), बहुमतको लोकतन्त्र (मेजोरिटिएन डेमोक्रेसी) आदिका बारेमा व्याख्या गर्छ, त्यसको शास्त्रीय पक्ष र संसारमा भइरहेको प्रयोगका विषयमा नेपालको भोगाइसहितको छलफल हुन्छ । 

संसारभरका राजनीतिक व्यवस्था केन्द्रीकृत, संघीय र लोकतान्त्रिक व्यवस्थाका अनेक पाटाको पहेली खोतल्ने कोसिस गरिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा प्रवेश गरेको कनेक्टिभिटी सिद्धान्तको कनेक्टिभिटी कसरी कक्षासम्म आइपुग्यो, एक प्राध्यापकले लामो व्याख्या गर्नुभयो । कनेक्टिभिटी सिद्धान्तले सत्ता, राजनीति, विश्वविद्यालय, विभिन्न नियुक्तिमा खेलिरहेको भूमिकाबारे गहन कुराकानी हुन्छ । डोमिनो इमप्याक्ट, छालबाट उत्पत्ति भएको छलाङ शब्द, छाल भनेको आउँदै जान्छ । छलाङमय बन्दै गइरहेको नेपालको राजनीति आदि विषयमा रमाइलो छलफल हुन्छ । 

सिद्धान्तको कुरा : समाजमा वर्ग छ । त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ, माक्र्सले भनेजस्तै वर्गविहीन समाज नबनेसम्म । समाजमा वर्गको अन्त्य नभएसम्म तिनीहरूबीचको संघर्ष पनि कुनै न कुनै प्रकारले भई नै रहनेछ । तर, वर्गमा आइरहेको परिवर्तन के मार्क्सले भने जस्तै दुईवटा धनी वा गरिब वर्ग मात्रै अहिलेको समाजमा विद्यमान छन् ? के मार्क्सले व्याख्या गरे जस्तै सबै वस्तु गुमाएको सर्वहारा वर्ग अहिले अस्तित्वमा छ ? सामाजिक बनोटका संवेदनशील अवस्थालाई के मार्क्सवादले न्याय गर्न सक्छ ?

आर्थिक अवस्थाका आधारमा बनिरहेका वर्गहरूबाहेक समाजमा अन्य संवेदनशील अवस्थासमेत विद्यमान हुन्छन् ? मार्क्सवादको विकासका नाममा विकास गरिएको लेनिनवाद, माओवाद युरो–कम्युनिजम, बहुदलीय जनवाद आदिको माक्र्सवादसँगको संगति खोज्ने प्रयास अन्नतसम्म चलि नै रहनेछ । मार्क्सवादलाई कुन मार्क्सवाद भनेर बुझ्ने मार्क्सको मार्क्सवाद (त्यसमा पनि युवाकालको माक्र्स वा परिपक्व) ? लेनिनको मार्क्सवाद ? स्टालिनको मार्क्सवाद ? माओको माक्र्सवाद ? बहुदलीय मार्क्सवाद ? आदि आदि । 

उदारवादले जसरी व्यक्तिगत स्वतन्त्रता, समानता, बहुमतको शासनको कुरा गर्छ, तर बहुसांस्कृतिक अवस्था भएको समाजको विद्यमान सामाजिक बनोटलाई बेवास्ता गर्छ । के उदारवादले बहुल जात, जाति र संस्कृति भएको समाजलाई न्याय गर्न सक्छ ? संसारभर अधिक देशमा अभ्यास भइरहेको जन–प्रतिनिधिमूलक लोकतन्त्र, बहुमतीय शासन प्रणालीले के साँचो अर्थमा आमनागरिक तथा अल्पसंख्यक नागरिकलाई न्याय दिइरहेको छ ? केन्द्रीकृत होस् वा संघीय शासन व्यवस्थाको लामो अभ्यासबाट के विश्वका आममानव जातिले न्याय र समानता प्राप्त गरिरहेका छन् ? के सिद्धान्त र शासकीय प्रणालीलाई समयसापेक्ष आमनागरिकको पहुँचमा विकास गरिनुपर्ने आवश्यकता बोध भएको छैन र ?   

सिद्धान्तको चस्माबाट कक्षाको सहभागिता : राजनीतिशास्त्रको कक्षालाई जुनसुकै सिद्धान्तको आँखीझ्यालबाट हेर्दा पनि गज्जबको मिश्रण देखिन्छ । नेपाली समाजमा विद्यमान सामाजिक अवस्थाको प्रतिनिधित्व त्यहाँ पाइन्छ । पूर्व, पश्चिम, हिमाल, पहाड, तराई, विभिन्न जातजाति, महिला, पुरुष आदि सबैको इन्द्रेणी बनेको छ । विभिन्न क्षेत्रमा क्रियाशील राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकाय, न्यायालय, नागरिक समाज, शिक्षक, व्यवसायीलगायत व्याक्तित्वहरूको उपस्थितिले कक्षाको गरिमालाई निकै ओझिलो बनाएको छ ।

उमेरका हिसाबले पनि तीन दशकका क्रान्तिकारी युवादेखि परिपक्व उमेर समूहको प्रतिनिधित्व छ । माक्र्सवादी आँखाबाट हेर्दा ब्रान्डेडदेखि नेपाली उत्पादन प्रयोगकर्ता, पजेरोदेखि दुईखुट्टे साधन, बहुसांस्कृतिक आयामबाट हेर्दा राई, क्षेत्री, ब्राह्मण, दलित, मधेसी, महिला, चौधरी, गुरुङ, मगर आदिको इन्द्रेणी सहभागिता उल्लेख्य छ । राजनीतिशास्त्रको कक्षालाई हेर्दा सिंगो देशको प्रतिनिधित्व कक्षामा देखिन्छ । हामी सबैको सामूहिक उद्देश्य भने निश्चत छ– दार्शनिक सोक्रेटसले भनेजस्तै ‘सत्यको खोजी र प्रज्ञाको जिज्ञासा ।’ 
(त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र  विषयमा एम.फिल–पिएचडी अध्ययनरत)
 

सुझावित समाचार