३९२ शाखा अधिकृतका प्रत्याशीको रिट पूर्ण इजलासमा

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले तीन सय ९२ शाखा अधिकृतका प्रत्याशीको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ तोकेको छ। सर्वोच्चले न्यायाधीशहरू अनिलकुमार सिन्हा, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल सम्मिलित इजलासमा सुनुवाइ तोकेको हो।

साउन २५ मा समायोजन भएका ३४ कर्मचारीको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले लोकसेवाको विज्ञापनमा खुलातर्फका कोटा कटाएर पदपूर्ति गर्न आदेश दिएको थियो।  यसविरुद्ध शिवहरि दाहाललगायत शाखा अधिकृतको अन्तर्वार्ता दिएका एक सय ३४ जना भदौ ११ मा सर्वोच्च गएका थिए।

आर्थिक वर्ष ०७६/७७ को कार्यतालिकाअनुसार ०७६ मंसिर २५ मा प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ पाँच सय ६० को विज्ञापन आह्वान गरिएको थियो। जसमध्ये तीन सय ९२ पद खुला तथा समावेशीतर्फ र एक सय ६८ पद बढुवातर्फका लागि छुट्याइएको थियो।

छुट्याइकामध्ये बढुवातर्फको पदपूर्ति भइसकेको छ। खुलातर्फ भने कोरोना महामारीका कारण अन्तर्वार्ता सकिएको थियो। कोटा काटेर नतिजा प्रकाशित गर्ने अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्चले भदौ २५ मा अर्को आदेश जारी गरेको थियो। यसपछि अन्तिम तयारीमा रहेको नतिजा प्रकाशनसमेत रोकिएको छ।

सुझावित समाचार