पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि हातपातको प्रयास भएको छ। बुटवल ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमणको प्रयास भएको हो।
पहिरो प्रभावित क्षेत्रको अवलोकन गरिरहेका सुवेदीमाथि एक युवाले आक्रमणको प्रयास गरेका हुन्। युवाको आक्रमणलाई नगर प्रहरीसहितको सुरक्षा टोलीले रोकेको थियो।
ज्योतिनगरमा भदौ दोस्रो साता गएको पहिरोले दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको थियो। गएराति र आज बिहान परेको वर्षाले थप आठ घरमा क्षति पुर्याएको छ। क्षतिबारे अवलोकन गर्न मेयरको नेतृत्वमा उपमहागरको टोली त्यहाँ गएको थियो ।
पहिरो प्रभावित क्षेत्रमा प्रहरीले उद्धार कार्य गरिरहँदा मेयरसहितको टोली पुगेको थियो। समयमै पहिरोपीडितका पक्षमा काम नहुँदा थप क्षति भएको भन्दै स्थानीय आक्रोशित छन्। अहिले उद्धारको कामसँगै आक्रमणबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।