काभ्रेमा निर्धारित कार्यतालिकाभित्रै वडा अधिवेशन गर्ने सहमति

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काभ्रेका वडाहरूमा निर्धारित समयभित्रै अधिवेशन सम्पन्न हुने भएको छ। आइतबार बसेको कांग्रेस नेताहरूको बैठकले यस्तो सहमति जुटाएको हो।   

काभ्रे कांग्रेसका नेता तथा संविधानसभा सदस्य तीर्थ लामाले सहमतिमा १३ स्थानीय तहका वडाहरूमा असोज ५ मा एकसाथ वडा अधिवेशन गर्ने सहमति जुटेको नयाँ पत्रिकालाई जानकारी दिए। ‘निर्धारित कार्यतालिकाभित्रै निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ,’ उनले भने, ‘असोज ५ मा अधिवेशन हुने वातावरण बनेको छ। जिल्लाका एक सय ३५ वटै वडाहरूमा एकसाथ अधिवेशन सम्पन्न हुनेछ।’

जिल्ला सभापति मधु आचार्य, पूर्वजिल्ला सभापति तथा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नेता गणेश लामा, जिल्ला समितिका पदाधिकारीहरूलगायतको बैठकले केन्द्रीय कार्यतालिकाअनुसार नै निर्वाचन गर्ने सहमति जुटाएको थियो।

काभ्रेमा क्रियाशील सदस्यताको टुंगो नलाग्दा यसअघि भदौ १८ लाई तोकिएको वडा अधिवेशनको कार्यतालिका प्रभावित बनेको थियो। कांग्रेसको नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन हुन नसकेका २० जिल्लामा असोज ५ मा निर्वाचन गर्ने कार्यतालिका रहेको छ।

सुझावित समाचार