मनाङका बाढीपीडित तीन महिनादेखि टेन्टमा, बस्ती स्थानान्तरण र पुनर्वासको पर्खाइमा

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

असार १ को बाढीले विस्थापित मनाङको नासों गाउँपालिका– १ तालगाउँका बाढीपीडित तीन महिनादेखि टेन्टकै भरमा बस्न बाध्य छन्। मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगरमा परिणत भएसँगै बाढीपीडित टेन्टमा बस्न बाध्य भएका हुन्।

मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगाएपछि तालगाउँकी ४९ वर्षीया सन्तकुमारी परियार अहिले तालडाँडामा टेन्टमा बस्दै आएकी छिन्। उनी भन्छिन्– सरकारले बस्ती स्थानान्तरण र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ। बाढीले घर बगाएपछि कहिले त्रिपाल त कहिले आफन्तकोमा बस्दै आएकी उनी अहिले डराई–डराई तालडाँडामा टेन्टमा बसिरहेकी छिन्।

सो दिनको बाढीले गंगामाया गुरुङकोे पनि घरखेत बगरमा परिणत भएको छ। उनी भन्छिन्, ‘दुःखले बनाएको घरमा मर्स्याङ्दी नदी बगेको छ। बाढीले बस्ने घर नै बगायो। बाढीबाट ज्यान त बच्यो, तर बस्नलाई घर छैन। स्थानीय नन्दजंग गुरुङ सरकारले बस्ती स्थानान्तरण र पुनर्स्थापनामा ध्यान दिनुपर्ने बताउँछन्। विस्थापित बाढीपीडितहरू बस्ती स्थान्तरण र पुनर्स्थापनाको पर्खाइमा छन्। तीन महिनादेखि घरबारविहीन बनेका उनीहरू सुरक्षति ठाउँमा पुनर्वासको आसमा छन्। लगातारको वर्षाका कारण टेन्टबाट पानी चुहिन थालेको छ। आफूहरूको पुनर्वास र बस्ती स्थानान्तरणका लागि सरकारले चासो नदिएको बाढीपीडितको गुनासो छ।

मर्स्याङ्दीको बाढीले सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। उनले भने, ‘सुन्दर बस्तीमा अहिले ढुंगा, माटो, बालुवा मात्र छ। बाढीपहिरोपछि सडक, खानेपानी, विद्युतबाट विच्छेद भएको मनाङको अवस्था झनै दर्दनाक र पीडादायी छ।’

असार १ गतेको अविरल वर्षासँगै आएको बाढीले ताल गाउँका ६० घर विस्थापित भएका छन्। मर्स्याङ्दीलगायत अन्य सहायक खोलाहरूमा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार मनाङको नासों गाउँपालिका र चामे गाउँपालिकामा गरी एक सय ५० घरधुरीका सात सय ५० जना विस्थापित भएका छन्। बाढीले तालगाउँको ३० घर र चामेको १० घरमा पूर्ण क्षति हुँदा दुई सय ८७ घर जोखिममा रहेका छन्।

बाढीपीडितको पुनर्स्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। स्थानीय तहले प्रस्ताव ल्याएपछि विस्थापित भएका पीडितलाई पुनर्स्थापना गरिने प्रजिअ लामिछाने बताउँछन्।

सुझावित समाचार