खिलराज रेग्मीको प्रश्न : संवैधानिक अभ्यास कता लम्किँदै छ ?

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन् । 

संविधान दिवस २०७८ का अवसरमा उनले  नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई अघि बढ्न सबैसँग आग्रह गरे । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले भने,‘विकास र आर्थिक समृद्धि प्राप्तिका लागि राजनीतिक स्थायित्व, शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्चालनमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।’ दिगो विकास र उत्पादकत्व वृद्धितर्फ भन्दा तत्कालीन लाभहानीका वितरणमुखी बजेटमा सबै सरकार केन्द्रित देखिएको जनाउँदै अध्यक्ष रेग्मीले ठूला विकास परियोजना अघि बढाउने सन्दर्भमा निष्पक्ष र समीक्षात्मकभन्दा पूूर्वाग्रहपूर्ण सूचनाले भ्रमित तुल्याएको उल्लेख गरे । 

उनले  जनतालाई सबैतिरबाट निरास हुने अवस्थाबाट जोगाउन सरकार र सबै राजनीति दललाई आह्वान गरे ।  पहिलो संविधानसभाले संविधान नदिई २०६९ जेठ १४ गते भंग भएपछि मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको नेतृत्वको सरकारले २०७० मंसिर  ४ गते दोस्रो संविधानसभाको सफल चुनाव गराएको थियो । उक्त संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको हो । रासस

सुझावित समाचार