प्रहरीको यातनाबाट मृत्यु भएका गुठीचौर गाउँपालिका– ३ गज्याङकोटका १३ वर्षीय पदम बुढाको परिवारलाई सरकारले पाँच लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ।
मृतक किशोरलाई गत वर्ष माघ १८ गते मोबाइल चोरीको आरोपमा घरबाटै जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको थियो। त्यसपछि शरीर सुन्निएर फागुन ५ मा उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएपछि उनका आफन्तले प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाएका थिए।
मृतक किशोरका आफन्तको मागअनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत परिवारलाई पाँच लाखको चेक आइतबार हस्तान्तरण गरेको हो।
किशोरको मृत्युका विषयमा गत वर्ष फागुन ८ गते गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले अनुसन्धानका लागि गृहका उपसचिवस्तरीय तीन सदस्यीय छनबिन समिति गठन गरेको थियो। यद्यपि, छानबिन समितिको अध्ययन रिपोर्ट भने सार्वजनिक नभएको पीडित पक्षले बताउँदै आएका छन्।