२२ वर्षपछि भारत हिमाञ्चलको जेलबाट रिहा भए लालबहादुर

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण
२२ वर्षपछि भारत हिमाञ्चलको जेलबाट रिहा भए लालबहादुर

लालबहादुर राना

हत्या अभियोगमा भारतको हिमाञ्चल प्रदेशको नाहन जिल्ला सिरमुरस्थित मोडेल सेन्ट्रल जेलमा रहेका नेपाली नागरिक लालबहादुर राना २२ वर्षपछि रिहा भएका छन् । दिल्लीस्थित सामाजिक संगठन नेपाली एकता मञ्चले पाँच वर्षको प्रयासपछि ७१ वर्षीय रानालाई ३ भदौमा रिहा गरेको हो ।

जेलबाट रिहा भएका राना अहिले जेलनजिक रहेको ढावामा काम गर्न थालेको दिल्लीस्थित सामाजिक संगठन नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए । राना १० वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको सचिव खड्काले बताए । रानाको पहिचान खुल्ने कुनै कागजपत्र नभएको र नेपाली राम्ररी बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए ।

‘सुरुमा घरपरिवारबारे केही बताउन सकेका थिएनन् । अहिले ओखलढुंगाको कटुन्जे गैरीगाउँ घर भएको बताइरहेका छन् । श्रीमतीको नाम सुनमाया, छोराको बमबहादुर र छोरीको लीलामाया रहेको बताउँछन्,’ खड्काले भने, ‘उनले दिएको ठेगानाका आधारमा सोमबार परिवारसँग सम्पर्क गर्छौँ ।’

सोही जेलमा रहेका रोल्पा जेलबाङका नरेन्द्र रोका पनि मञ्चको सक्रियतामा गत वैशाखमा रिहा भएका थिए । झुटा मुद्दामा जेल परेका ४६ वर्षीय रोकाले २४ वर्ष जेलजीवन बिताएका थिए । मञ्चले सोही जेलमा रहेका मोरङ बेलबारीका अर्जुन नाम गरेका नेपालीको मुद्दामा पनि पाँच वर्ष लडेर गत २७ असारमा जितेको थियो । कैदीहरूको झडपमा उनको जेलमै मृत्यु भएको थियो । उनको परवारिलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको थियो । सोही क्रममा लालबहादुरको विषयमा जानकारी प्राप्त भएको र मुद्दा लडेको खड्काले बताए । 

भारतका विभिन्न प्रदेशमा करिब १५ हजार नेपाली जेलमा रहेका उनले बताए । विभिन्न झुटा आरोपमा नेपालीहरू भारतका जेलमा पर्ने गरेको उनको भनाइ छ । कतिपय अवस्थामा भारतीय रोजगारदाताले नै नेपाली नागरिकलाई जेलमा पु¥याउने गरेको उनको आरोप छ । ‘लामो समयसम्म काममा लगाउने अनि पारिश्रमिक दिनुपर्छ भनेर विभिन्न चोरी, हत्या, डकैतीजस्ता आरोप लगाएर जेल पु¥याउने गरेका घटना पनि छन्,’ उनले भने ।

सुझावित समाचार