नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति भएपछि आमसर्वसाधारण खुसी छन् । घिसिङ आएपछि विद्युत् काटिने समस्याबाट मुक्त हुने आशा सबैमा छ । नेपालमा लोडसेडिङको अन्त्य पनि घिसिङको नेतृत्वमा नै भएको थियो । तर, पछिल्लो समय उपत्यकाका केही ठाउँहरूमा विद्युत् काटिन थालेको छ । साँझ, बिहान र दिउँसोको समयमा विद्युत् काटिन थालेपछि सर्वसाधारणले हैरानी मानेका छन् ।
विद्युत् काटिदा यसको भरमा काम गर्न बसेकाहरूलाई अवरोध पुगेको छ । उपत्यकाका अधिकांश ठाउँमा ५, १०, २० मिनेटदेखि एक घण्टासम्म विद्युत् काटिने गरेको छ भने केही क्षेत्रमा २ देखि ३ घण्टासम्म विद्युत् आउँदैन । शनिबार रत्नपार्क, चाबहिल र बालुवाटार क्षेत्रमा विद्युत् सेवा करिब दुई घण्टासम्म अवरुद्ध भएको थियो । त्यस्तै उपत्यकाका अन्य ठाउँहरूमा पनि थोरै समय भए पनि विद्युत् काटिन थालेको छ।
किन काटिन्छ विद्युत् ?
हाल देशभर लोडसेडिङ छैन । प्राधिकरणले २४ सै घण्टा विद्युत् सेवा दिने प्रतिबद्धता जनाइरहेको छ । तर, लोडसेडिङ जसरी किन काटिन्छ त विद्युत् ? यसको खास कारण उपत्यकामा विद्युतका तार र पोल मर्मत गर्नु, पोल तथा तारमा आगलागी हुनु, तार सर्ट हुनु हो । यसबाहेक अन्य कारणले विद्युत् नकाटिएको प्राधिकरणका सूचना अधिकारी अनिता सुवेदीले बताइन् । उनका अनुसार उपत्यकामा अहिले सबैभन्दा बढी चुनौती विद्युतका तार व्यवस्थापन कार्य बनेको छ । एउटा तार सर्ट भयो भने त्यसलाई बनाउन घन्टौँ लाग्छ। सबैतिर तार जेलिएकाले त्यसलाई बनाउन समय लाग्ने सुवेदीको भनाइ छ । उनले हाल सट्डाउन र मर्मतसम्भारको काम भएको बेला विद्युत् काटिने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘हिजो रत्नपार्क र बालुवाटार क्षेत्रमा केही समय विद्युत् सेवा काटिएको थियो । त्यस क्षेत्रमा विद्युतसम्बन्धी काम भएर नै काटिएको हो । कहिलेकाहीँ ट्रान्सफर्मर जलेर विद्युत् काटिन्छ, कहिले तार जल्छ ।’
उनका अनुसार अन्य दिन विद्युतको काम गर्दा समस्या हुने भएकोले शनिबार नै धेरैजसो ठाउँमा मर्मतको काम गरिन्छ । उपत्यकामा अझै केही ठाउँहरूमा तार व्यवस्थापन गर्नुपर्ने भएकोले ती क्षेत्रमा विद्युत् अवरुद्ध हुन सक्ने उनको भनाइ छ ।
‘भूमिगत गर्दा विद्युत् काटिने डर हुँदैन’
नेपाल विद्युत प्राधिकरणले हाल उपत्यकाका केही ठाउँहरूमा तार भूमिगतको काम गरिरहेको छ। उक्त कार्यका लागि बिजुलीका तार र पोल भत्काउनु पर्दैन । भूमिगत गर्ने सरसामानहरु नयाँ राख्ने भएकोले पोल र विद्युत् प्रसारण भइरहेको तार चलाउन आवश्यक नहुने प्राधिकरणको भनाइ छ । सबैतिर भूमिगतको काम सकिएपछि प्रसारण लाइन जडान गरेर मात्रै प्राधिकरणले पोल उखेल्ने र त्यसमा टाँगिएको तार निकाल्नेछ ।