गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले पोखरा महानगरपालिकालाई तिरेको करका विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षणपछि महालेखाले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उनले महानगरमा बुझाएको करबारे प्रश्न गर्दै छानबिन गरी वास्तविकता पत्ता लगाउन भनेको हो ।
प्रतिवेदनमा थापाले महानगरलाई २ चैत ०७६ मा पाँच लाख ९९ हजार तीन सय ५२ रुपैयाँ कर बुझाएको र सो कर केका लागि बुझाएको भन्दै विवरण पेस गर्न महालेखाले भनेको छ । विवरण पेस नहँुदा थापाले केका लागि कर बुझाएको र तिरेको कर सही हो वा होइन भनी यकिन गर्न नसकिएकाले सोको फाइल र विवरण पेस गर्न पनि भनेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ र ९ मा रहेको पोखरा ट्रेडमल एन्ड हाउजिङ प्रालिभित्र रहेको मन्त्री थापाको एकल स्वामित्वमा रहेको सिटी ट्रेडमल एन्ड हाउजिङ प्रालिको अभिलेखीकरण गर्दा उनले एक करोड १६ लाख ३६ हजार ८६ रुपैयाँ कम राजस्व बुझाएकाले महानगरको आयमा सो रकम फरक परेकाले छानबिन गर्न निर्देशन दिएको छ । ०७६ मा भएको नगरसभाले महानगर क्षेत्रभित्र मापदण्डविपरीत निर्माण भएका घर अभिलेखीकरण गर्ने निर्णय गरेको थियो ।
नगरसभाको निर्णयपछि १० माघ ०७६ मा महानगरले स्थानीय राजपत्रमा भवन नियमित तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि, ०७६ जारी गरेको थियो । नगर क्षेत्रभित्र निर्माण भएका तला थप तथा अन्य भवनको नियमित तथा अभिलेखीकरण गर्ने उद्देश्यसहित कार्यविधि जारी भएको थियो ।
कार्यविधिमा स्वीकृति नलिईकन घर निर्माण गरेकाले तत्कालको तोकिएको मापदण्ड एवं भवन आचारसंहिता पालना गरेका भवनलाई अभिलेखीकरण गर्ने उल्लेख गरिएको थियो । मापदण्डविपरीत बनेका र ३५ फिट अर्थात् तीन तलाभन्दा अग्ला भवनको प्राविधिक जाँच गरी तीन सय प्रतिशत जरिवाना लिएर अभिलेखीकरण गर्ने कार्यविधिमा उल्लेख छ ।
पाँचतले ट्रेडमलको निर्माण ०६९ मा सुरु गरेर ०७२ मा सकिएको थियो । मलको ०७२ असोजमा औपचारिक उद्घाटन गरिएको थियो । ट्रेडमलका अध्यक्ष मन्त्री थापा आफैँ छन् । तत्कालीन समयमा पोखरामा ३५ फिट अर्थात् तीन तलाको मात्र नक्सापास स्वीकृत हुने गथ्र्यो । मल व्यवस्थापनले ०७१ फागुनमा तीन तलाको भवन निर्माण सम्पन्न भएको पत्र लिएको थियो ।
बाँकी तला मापदण्डविपरीत बनेकाले स्वीकृत नपाएको मलका प्रबन्ध सञ्चालक मीनराज काफ्ले बताउँछन् । पोखरा ट्रेडमलभित्र मन्त्री थापाको अन्य भवनसमेत छन् भने त्यसका अलावा एकल स्वामित्वमा रहेको र छुट्टै दर्ता भएको सिटी ट्रेडमल एन्ड हाउजिङ छ । पाँचतले सो भवनको कुल क्षेत्रफल करिब १९ हजार स्क्वाएर फिट रहेको काफ्ले बताउँछन् । मलको व्यवस्थापन भने पोखरा महानगरले गर्दै आएको छ ।