संविधानको व्यवस्थाअनुसार प्रत्येक पाँच वर्षमा राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ। संविधानको धारा २६९ को उपधारा ४ (ख) को व्यवस्थाअनुसार पाँच वर्षमा विशेष परिस्थितिका कारण महाधिवेशन सम्पन्न हुन नसके ६ महिनाको थप समय पाउने व्यवस्था रहेको छ।
नेपाली कांग्रेसको हकमा संविधानको व्यवस्थाअनुसारको साढे पाँच वर्षको अवधि भदौ २३ मा सकियो। कांग्रेसले भदौ १८ बाट महाधिवेशन सुरु भएर मंसिर १३ मा सम्पन्न हुने गरी कार्यतालिका ल्याएको छ र कार्यतालिकाअनुसार वडा तहको अधिवेशन भइरहेको छ। समयमा महाधिवेशन हुन नसक्दा कांग्रेसको वैधानिकतालाई लिएर अनेकन प्रश्न उठ्ने गरेका थिए।
नेपाली कांग्रेसले १४औँ महाधिवेशन सुरु भएको जानकारी अन्तिम दिन निर्वाचन आयोगलाई गराएको छ। कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको कारण उल्लेख छ। कांग्रेसले सबै तहको अधिवेशनको प्रक्रियाबारे आयोगलाई कार्यतालिकाबारे जानकारी गराएको छ। आयोगले पत्रलाई नोटिसमा लिइएको बताएको छ।
वैधानिकताको प्रश्न बाँकी छैन : आयोग
आयोगले कांग्रेसको पत्र आएसँगै महाधिवेशनले वैधानिकता पाएको बताएको छ। आयोगका सचिव पत्रका सम्बन्धमा कुनै निर्णय गरिरहनु नपर्ने बताँउछन्। ‘यसमा कुनै निर्णय गरिरहनुपर्दैन। आयोगलाई महाधिवेशन सुरुवात भयो भनेर जानकारी गराएपछि त्यो आयोगको नोटिसमा रह्यो। संविधानअनुसार हुनुपर्ने महाधिवेशन सुरुवात भइसक्यो भनेर जानकारी गराएपछि वैधानिकता पाँउछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘महाधिवेशन गर्ने मनसाय भएकाले संविधानले वैधानिकता दिन्छ ।’
महाधिवेशनको समयावधिलाई लिएर कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको छ। कांग्रेस महाधिवेशनको समयावधिका विषयलाई लिएर कानुनविद्हरूको समेत फरफरक मत रहेको पाइन्छ। संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानले सम्पन्न हुनुपर्ने समयको परिकल्पना गरेको बताउँछन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत साढे पाँच वर्षको अवधिलाई टेकेर महाधिवेशन भइरहेकाले वैधानिकतामा प्रश्न नआउने बताउँदै आएका छन्।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली समयभित्रै कांग्रेसले महाधिवेशन सुरु गरेको र आयोगलाई जानकारी गराएकाले संविधानले वैधानिकता दिने बताउँछन्। ‘जुन मितिसम्म डेटलाइन हुन्छ त्यो डेटलाइनभित्र सुरु गरेर यति समय लाग्छ भनेर प्रकृयामा गएको छ भने संविधानले त्यसलाई वैधानिकता दिन्छ,’ उनले भने, ‘निर्वाचन गर्दैन कि भनेर संविधानले मनसाय व्यक्त गरेको हुन्छ। निर्वाचनमै होमिसक्यो भने त्यसमा छुट हुन्, वैधता पाउँछ।’
कांग्रेस महाधिवेशन कार्यतालिका
वडा अधिवेशन – ०७८ भदौ १८ बाट सुरु
गाउँ/नगरपालिका अधिवेशन – ०७८ भदौ २७
प्रदेश सभा क्षेत्रीय अधिवेशन – ०७८ असोज १
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – ०७८ असोज ५
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – ०७८ असोज १०
प्रदेश अधिवेशन – २०७८ कात्तिक १०, ११ र १२
केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९, १०, ११, १२ र १३ (काठमाडौंमा)