सम्झनामा आनन्द दाजु

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

फेसबुक, इन्स्टाग्राम ट्विटरजस्ता सामाजिक सञ्जाल आजकल मानिसको सबभन्दा नजिकको साथी भएका छन् । सुख–दुःखका खबर यिनैले तुरुन्तै ओसारपसार गर्छन् । तर, यो वर्ष यी सामाजिक सञ्जालले धेरैलाई झस्काए । बारम्बार आफन्त तथा प्रिय व्यक्तिको मृत्युको खबर बोकेर ल्याए । मेरा नजिकका प्रेरणादायी व्यक्तित्वहरू डा. राजेन्द्र सुवेदी, प्रा. निर्मला उप्रेती, एकाराम सिं, हरिप्रसाद शर्मा, कान्ति मिश्र, मोहन पोखरेललगायत अन्य थुप्रै असल व्यक्ति महायात्रामा प्रस्थान भए । ती दिवंगत आत्माहरूमा हार्दिक श्रद्धाञ्जली ! 

ल्यापटपमा आफूले खिचेका पुराना फोटोहरू हेरेर बसेकी थिएँ, विराटनगरको वरगाछीमा विकाससम्बन्धी एक तालिमका वेला महिलाहरू नाचेको फोटो पनि रहेछ । क्यासेट प्लेयरमा एउटा जागरण गीत घन्काउँदै खुब रमाउँदै नाचेका थिए, महिलाहरू । उनीहरूको खुसीमा तालिम सहजकर्ता नरमाया पुन पनि सँगसँगै रमाउँदै नाचेकी थिइन् । जेबी टुहुरेको स्वरमा रेकर्ड भएको त्यो गीत मलाई साह्रै मन प¥यो । गीतकोे बोल थियो–

‘आफ्नै पौरख खान्छन्, आफ्नै 
सीपमा बाँच्छन् 
दुःख  कष्ट सहेर सृष्टि यिनले थाम्छन्
असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन् 
ज्ञानगुन बुद्धि यिनैले सिकाउँछन् 
तर पनि अँधेरीमा जीवन बिताउँछन् 
आमा दिदी बहिनी हो कति बस्छौ दासी भई
सुखको सधैँ प्यासी बनेर....’

केही दिन पहिले सञ्जालमा देख्छु, यस्तो मिठो गीत गाउने कलाकार जेबी टुहुरे अस्पतालबाटै सधैँका लागि बिदा भएछन् । जेबी टुहुरेसँग मेरो कुनै चिनजान, साइनो थिएन । यिनलाई मैले प्रत्यक्ष कहिल्यै देखेकी वा फोनमा कुराकानी गरेकी पनि छैन । तर, मन फेरि धमिलियो, यी जनताको मनमा भिजेका कलाकार पनि सदाका लागि बिदा भए भन्ने खबरले । जेबी टुहुरेका जागरण गीतले महिला तथा उत्पीडनमा परेका जनताको मुक्तिको आवाज उठाएका छन् । प्रतिभाले सबका प्रिय बनेका गायक जेबी टुहुरेलाई अन्तरमनबाटै श्रद्धाञ्जली । तपाईंका सुन्दर गीत महिला तथा उत्पीडित जनताको मुक्तिका लागि सदा मुक्तिकामीमाझ गुन्जिरहनेछन् ।

देशबाहिर लामो समय बस्न रमाइलो लाग्दैन । तर, परिस्थितिले मानिसलाई वेलावेला गुलाम बनाइहाल्छ । बाहिर बस्दा गर्ने काम खासै हुन्न, मजस्ताको । सञ्जालका खबर, लेख आदि पढ्ने, फोनमा आफन्त साथीसंगीसँग कुरा गर्ने, यस्तै हुन् काम । साँझतिर नेपालबाट फोनमा खबर आयो– ८५ वर्षीय मेरो जेठो दाजु आनन्ददेव भट्ट परलोक हुनुभयो । यो खबरले म रन्थनिएँ । मानिस जन्मेपछि मर्नैपर्छ । त्यसमा पनि पूरा उमेर बाँचेर बिदा भएको मानिसका लागि आँसु धेरै नबग्नुपर्ने होे । तर, थामिएन । आनन्द दाजुसँग मेरो धेरै पक्षको सामीप्यता थियो । यसैले होला धेरै दिन भइसक्दा पनि मन अझै भारी छ । 

आनन्द दाजुलाई पहिलोपटक भेट्दा म नौ वर्षकी थिएँ । त्यसवेला हामी नेपालगन्जमा थियौँ । दाजुले मलाई देख्नासाथ जुरुक्क उचाल्नुभयो र ‘ओहो मेरी सानी बहिनी कति राम्री’ भन्दै मुस्कुराउँदै मलाई हेर्नुभयो, अनि मलाई भुइँमा राखेर भन्नुभयो, ‘राम्री हुन त गाजल–टीका लाएर मात्र हुन्न..., धेरै पढ्नु पनि पर्छ नि है बैनी !’ त्यो वेला दाजुले भनेका कुरा बुझ्ने मेरो क्षमता कहाँ हुनु ? तर, हाँसेर टाउको हल्लाएँ, हुन्छको भावमा । 

 सात कक्षामा पढ्ने भएपछि मेरा जुम्ल्याहा भाइ कृष्णदेव र म आनन्द दाजुका साथ पढ्न चितवन गयौँँ । करिब डेढ वर्ष दाजुका साथ बस्दा स्कुलको पढाइका साथै साहित्यिक पुस्तक पढ्न, कला, साहित्य, संगीतमा भाग लिन दाजुले प्रेरणा दिइराख्नुभयो । ‘सत्यको खोजीमा’ नामक नाटक भाइ र मलगायत सहपाठीले मञ्चमा प्रदर्शन ग¥यौँ ।

कलेज पढ्ने भएपछि फेरि पनि हामी काठमाडौंमा दाजुको साथै भयौँ । ज्ञानगुन पाइने कार्यक्रममा आफू सहभागी हुँदा नातागोता चिनजानका सबैलाई सहभागी बनाउने स्वभाव दाजुको थियो । अग्रगामी सोचका कारण पढाइका साथै कलेजमा अतिरिक्त क्रियाकलापमा भाग लिन दाजु प्रेरित गरिराख्नुहुन्थ्यो । माधव घिमिरे, पारिजात, लैनसिंह बाङ्देल, कमलमणि दीक्षित, रामेश, मञ्जुलजस्ता व्यक्तिकहाँ जाँदा हामीलाई समेत साथै लग्ने, मैले लेखेका रचना परिमार्जनका लागि सुझाब दिने गर्नुहुन्थ्यो । 

आनन्द दाजु अग्रगामी सोचको व्यक्ति हुनुहुन्थ्यो । छोरीहरू समाजमा निर्धक्क हिँड्दा अनेक खतरा हुन्छ भन्ने पुरातन सोचबाट हाम्रो परिवार पनि उम्किसकेको थिएन । तर, दाजुले हामी छोरी जातिलाई स्वतन्त्र र स्वावलम्बी बन्न सधैँ प्रेरणा मात्र हैन, आड र भरोसा पनि दिइरहनुभयो । शिक्षा, साहित्य तथा राजनीतिका त्रिवेणी दाजु आनन्ददेव भट्ट सामाजिक चेतनाका प्रखर चिन्तक हुनुहुन्थ्यो । ०२२ सालमा वीरेन्द्र कलेज भरतपुरको स्थापना भएपछि उहाँ त्यस कलेजको प्रिन्सिपल हुनुभयो र शिक्षा क्षेत्रको विकासका लागि निरन्तर १० वर्ष सेवा गर्नुभयो । उहाँको परिश्रम र मार्गनिर्देशनमा यो कलेज तथा शिक्षा क्षेत्रमा भएको उल्लेखनीय प्रगतिमा चितवनवासी कृतज्ञ छन् । 

शिक्षा र साहित्यमा सधैँ हामीलाई उत्प्रेरित गरे पनि राजनीतिमा सामेल हुन भने अभिप्रेरित गर्नुभएको याद छैन । ‘राजनीति गर्न दाउपेच जान्नुपर्छ, बाठो हुनुपर्छ । इमानदारी र मिहिनेतले भन्दा कुटिलता जान्नुपर्छ । तँजस्तो सीधासाधा साधु के राजनीति गर्छस् ? पढाएर बस् । राजनीति छोड्, ठुल्बाबु ।’ भनी आमा बारम्बार दाजुलाई भनिरहनुहुन्थ्यो । उहाँको विचारमा हरेक व्यक्तिलाई राज्यले शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर दिनुपर्छ । रोजगारीका लागि नातागोता वा आर्थिक फाइदा गराउने समूहलाई मात्र मौका दिने गलत प्रवृत्ति हटाई क्षमता तथा योग्यताअनुसारको व्यक्तिले मौका पाउने हुनुपर्छ भन्ने अडान राख्नुहुन्थ्यो । 

असमानता र थिचोमिचोले देशको कुनै कुनामा पनि ठाउँ पाउनुहुन्न भन्ने सोच आनन्द दाइमा थियो । खासगरी, पिछडिएका वर्गको उत्थानका लागि उहाँको योगदान प्रशंसनीय छ । आफ्नो पुख्र्यौली थलो बैतडी गई कथित तल्ला जातिहरूको घरघर पुगी उनीहरूमा समानताका लागि चेतना जगाउने कार्यमा संलग्न भइरहनुभयो । दाजुसँग सिक्नुपर्ने धेरै गुण थिए । अनुशासित, मिठो बोलीवचन, डाह–इष्र्यामुक्त, कर्ममा निरन्तर लागिरहने लगनशील व्यक्ति हुनुहुन्थ्यो । आफ्नो स्वतन्त्र विचार र विश्वास छलफल वा विवादमा दृढ रूपमा राख्नुहुन्थ्यो । 

समग्रमा आनन्द दाजु एक आदर्श व्यक्ति हुनुहुन्थ्यो । स्वतन्त्र, स्वाभिमानी तथा कर्ममा रम्ने निष्ठावान् व्यक्तिका रूपमा सबैमाझ चिनिनुहुन्थ्योे । जीवनभर नैतिक पक्षमा कहीँ कतैबाट दाग लाग्ने काम उहाँबाट भएन । ‘सर्वे भवन्तु सुखिनहः सर्वे सन्तु निरामय’ नै उहाँको जीवनको मूल लक्ष्य थियो । महिलाको सम्मान गर्ने सवालमा उहाँ एक आदर्श उदाहरण नै हुनुहुन्थ्यो । जीवनसंगीनी सुशीला भाउजूसँग उहाँको सम्बन्ध अत्यन्त सुमधुर थियो । ५७ वर्षे सहयात्रामा यी दुईबीच द्वन्द्व वा अप्रिय बोलीवचन सुनिएन । नेपाली समाजको उत्थानका लागि आजीवन समर्पित आनन्ददेव भट्ट दाजुको स्वर्गवासबाट परिवार तथा राष्ट्रले नै अपुरणीय क्षति बेहोर्नुपरेको छ । भौतिक रूपमा उहाँ अब हाम्रा सामु हुनुहुन्न । आनन्द दाजुले देखाउनुभएको सत्मार्गमा सदा हिँड्न सकौँ, यही नै उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ । 
 

सुझावित समाचार