राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौं–नयाँदिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन्।
नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) उडान अनुमति पाएको छ। एयर बबल सम्झौताअनुसार यसअघि नयाँदिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरूप नै दैनिक उडान तालिका बनाइएको हो। भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बेंग्लाेर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ। नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।
निगमका एक विभागीय निर्देशकका अनुसार नयाँदिल्ली गन्तव्यमा दैनिक उडानले दसैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ।
एयर अरेबियाले हरेक दिन काठमाडौं गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ। सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ। यस्तै, फ्लाई दुबईले काठमाडौंका लागि सातामा १० उडान गर्नेछ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान सञ्चालन गर्नेछ। सोही एयरलाइन्सले दुबईका लागि साताको ६ उडान सञ्चालनको अनुमति पाएको छ। त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कुल सात उडानको अनुमति पाएको छ।
जजिरा एयरवेजले काठमाडौंका लागि हरेक दिन उडान गर्नेछ। कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौं उडान गर्नेछ। मालिन्दो एयरको जहाजले क्वालालम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान गर्नेछ। मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौं आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ।
नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ। दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ। उक्त एयरलाइन्सले क्वालालम्पुरमा सातामा चार उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै, हङकङका लागि हरेक मंगलबार उडान हुनेछ।
त्यसैगरी, कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ। सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौं गन्तव्यमा उडान भर्नेछ। टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौंमा उडान गर्नेछ। सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ। यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ। अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।