नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीचको सहमतिमा मात्रै एमसिसीलाई अघि बढाउन सकिने धारणा राखेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसिसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरूबीच सहमति गरेर मात्रै सो सम्झौतालाई अघि बढाउन सकिने पार्टीको अडान रहेको जानकारी गराएका हुन् ।
नेपालले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै एमसिसी सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । सुमारले एमसिसी कुनै सैन्य रणनीतिअन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त पार्न खोजेकी थिइन् ।
नेपालले भने एमसिसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालयसचिव डा. गंगालाल तुलाधरले जानकारी दिए । उनले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीका बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरू जो सरकारमा सामेल छन् । ती सबै राजनीतिक दलहरूको कन्सर्नको कुरा हो । त्यसैले हामी आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौँ ।’
करिब डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसिसी दबाब दिएर पारित गराउने पक्षमा आफूहरू नरहेको पनि बताएकी थिइन् ।