जुम्लामा नाै वर्षीया बालिका तिला नदीमा खसेर बेपत्ता भएकी छिन् । बुधबार गुठीचौर गाउँपालिका– २ को चुच्चेबगर भन्ने ठाउँमा काठको फड्के तर्दै गर्दा बालिका बेपत्ता भएकी उनकी दिदी टीका बुढाले बताइन् । उनका अनुसार जंगलमा काठे ओखर टिप्न भनेर चारजना गएका थिए।
चुच्चेबगर भन्ने ठाउँबाट तिलानदीले बगाएको खबर प्राप्त भएको गुठीचौर झारजुवाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठले बताए । उनका अनुसार गज्याङकाेट, मणिसागु प्रहरी चौकी, अस्थायी प्रहरी पोस्ट गोठीचौर र स्थानीयवासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।