एकीकृत समाजवादीमा दैलेखका ६२ निर्वाचित जनप्रतिनिधिको सनाखत

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

११ वटा पालिका र जिल्ला समन्वय समितिमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको कुल संख्या तीन सय १५ रहेकोमध्ये मंगलबार पाँच बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा आफू जान चाहेको भन्दै सनाखत गरेका छन्।  त्यसमध्ये एकजना वडाध्यक्ष स्वतन्त्र निर्वाचितले पनि नेकपा एस रोजेका छन्।

नेकपा एस पार्टी रोज्ने जनप्रतिनिधिहरूमा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही र उपाध्यक्ष प्रेमकुमारी बुढा रहेका छन्। त्यस्तै, दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा रहेका छन्। क्षेत्र नं. २ अन्तर्गत  ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले पनि माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गरेकी छिन्।  

निर्वाचित वडाध्यक्षहरूमा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत महावु गाउँपालिका वडा नं. ४ का देवबहादुर शाही, वडा नं. ५ का जगत हमाल, ६ का डम्बरबहादुर थापाले नेकपा एसमा सनाखत गरेका छन्। भगवतीमाई गाउँपालिकाबाट वडा नं. २ कर्णबहादुर शाही, ४ का कृष्णबहादुर थापा, ५ का कृष्णबहादुर शाही, ६ का वीरशंकर रोकाय रहेका छन् । रोकाय स्वतन्त्र उम्मेदवार हुन्। नौमूले गाउँपालिका– ४ का गजबहादुर ढेंगा र नारायण नगरपालिका– १ का तीर्थनारायण श्रेष्ठले पनि सनाखत गरेका छन्। क्षेत्र नं. २ अन्तर्गत दुल्लु नगरपालिका– ९ का अध्यक्ष रणबहादुर बोहोराले नेकपा एस पार्टी रोजेका छन्। 

जिल्ला समन्वय समितिका दुईजना सदस्यले पनि नेकपा एस पार्टी रोजेको र अन्य वडाका वडा सदस्यहरू गरेर कुल ६३ जनाले नेकपा एस पार्टी रोजेकोमध्ये भैरवी गाउँपालिका– ५ का वडा सदस्य विष्णुप्रसाद जैसीले समर्थन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निमित्त जिल्ला निर्वाचन अधिकृत तीर्थ सुवेदीले जानकारी दिएका छन्। 

सुझावित समाचार