म महामन्त्री भएपछि नेता तथा कार्यकर्ताले अनशन बस्नुपर्दैन : गगन थापा (भिडियोसहित)

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

कांग्रेसका नेता गगन थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउन आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका नेता तथा कार्यकर्तालाई अनशन बस्नुपर्ने स्थिति आउन नदिने बताए । 

थापाले पार्टीका आन्तरिक समस्यालाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताए । थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउन नौजवानको आवश्यक रहेको बताए । 

उनले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्याैँ भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खासगरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईं–हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो, तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।’

सुझावित समाचार