दोर्दी गाउँपालिकाको छ्याङ्दी खोलामा निर्माण गरिएको अपर छ्याङ्दी खोला जलविद्युत् आयोजनाको आन्तरिक परीक्षण सम्पन्न भएको छ । चार मेगावाटको आयोजनाले ११ भदौदेखि १३ सम्म विद्युत् उत्पादन परीक्षण गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले बताए ।
आयोजनाको बाँधस्थलबाट दुई हजार आठ सय ७४ मिटर हेडरेस र एक हजार तीन सय ५६ मिटर पेनस्टक पाइपबाट पावरहाउसमा पानी खसालिएको छ । यसको कुल हेड सात सय ४५ मिटर रहेको छ । आयोजनाको पावरहाउसमा दुई–दुई मेगावाट क्षमताका दुईवटा टर्बाइन र दुईवटा जेनेरेटर जडान भएका छन् ।
अपर छ्याङ्दीबाट उत्पादित विद्युत् दुई मेगावाटको तल्लो छ्याङ्दी जलविद्युत्को सबस्टेसनमा जोडिने र तल्लो छ्याङ्दीमा छुट्टाछुट्टै मिटर रिडिङको व्यवस्था गरी प्राधिकरणको उदिपुर सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।
आयोजना निर्माणमा ८० करोड ३५ लाख खर्च भएको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता पिपिएअनुसार विद्युत् उत्पादन गर्ने मिति ०७८ तोकिएको छ । ०७६ वैशाखदेखि निर्माण सुरु गरिएको आयोजनामा बैंक अफ काठमाण्डू र कुमारी बैंकले ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानी रहेको छ ।
आयोजनाबाट असोजको पहिलो सातादेखि नै व्यावसायिक विद्युत् उत्पादन सुरु हुने कार्यकारी प्रमुख अधिकृत थापाले जानकारी दिए । विद्युत् संरचना निर्माण गरेको एक वर्षमै सबै काम सम्पन्न गर्ने लक्ष्य भए तापनि बाढी र पहिरोका कारण आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।