नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी छिट्टै अन्य कुनै दलसँग विलय भएर जाने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी डोल्पाले २१ भदौमा आयोजना गर्न लागेको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता रिजालले पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन् ।
नेता नेपालले क्षणिक स्वार्थका लागि जबज नै त्याग गरेर धेरै वर्ष त्याग र बलिदान गरेको पार्टी फुटाएर नयाँ पार्टी खोलेकाले उनको दल केही समयमै अन्य कुनै पार्टीसँग विलय भएर जाने रिमालको आरोप छ । ‘पार्टी फुटाएर अलग भएका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ, न्यायालयले उनीहरूको सांसद पद खारेज गर्ने विश्वास छ,’ नेता रिजालले भने ।
नेकपा एमालेबाट अलग भएका सांसद कारबाहीको सवालमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले एकपक्षीय ढंगबाट अघि बढेको नेता रिजालले बताए ।एमालेका विदेश विभाग प्रमुखसमेत रहेका नेता रिजालले मूल पार्टी नेकपा एमाले नै भएकाले देशभरका सम्पूर्ण नेता–कार्यकर्तालाई नीति सिद्धान्तमा अडिक भएर लाग्न आग्रहसमेत गरे ।
अगुवा कार्यकर्ता भेला हुनुभन्दा दुई दिनअगावै डोल्पा पुगेका नेता रिजालले डोल्पामा पार्टीनिकटका नेता–कार्यकर्ता एवं भ्रातृ संगठनका प्रमुखहरूलाई प्रशिक्षण दिनुका साथै चरणबद्ध छलफल गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । यस अवधिमा जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर अगुवा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको बुढाको भनाइ छ ।