बिस्तारै हाँक्नुहोस्, हतार नगरौँ, गुड डे, सहर सफा राखौँ, ज्वजलपा, नमस्कार, शुभयात्रा, शुभदिन। ललितपुरको कुपण्डोलदेखि जावलाखेलसम्म यात्रा गर्दा सडकको आइल्यान्डमा यस्तै सन्देशरूपी कैयौँ शब्दहरू पढ्न पाइन्छ। गोलो आकारको सेतो ढुंगामा कोरिएका शब्दहरू सडकको शोभाका लागि मात्रै होइन, ओहोरदोहोर गर्ने सवारी चालकलाई होसियार पार्न पनि हो।
प्रायः सवारीचालक यात्रा गर्दा हतारमा देखिन्छन्। त्यसरी सवारी कुदाइरहँदा दुर्घटनाको जोखिम पनि हुन्छ। यी ढुंगाहरूमा लेखिएका अक्षरहरूले मुख्यत सवारीचालकलाई केन्द्रित गरेको छ। उनीहरूलाई सजग गराउन ललितपुर महानगरपालिकाअन्तर्गतको नगर प्रहरीले ढुंगामा विभिन्न ट्राफिक सन्देशहरू लेखेको हो। नगर प्रहरीले सडकको किनार, पेटी र आइल्यान्डमा अहिले ढुंगाहरू सजाएको छ। ढुंगाहरूमा कोरिएका यी अक्षरहरूलाई स्टोन आर्ट भनिन्छ। नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले अक्षरहरूले चालकहरूलाई सम्झाइरहेको बताए। सवारीसाधन दौडाउन हतार गर्ने चालकहरूको आँखा पुग्ने गरी सडकमा ढुंगाहरू राखिएको उनको भनाइ छ। ‘हेर्दाखेरि सडक पनि राम्रो देखिएको छ, त्यससँगै ट्राफिक जनचेतना पनि प्रवाह भइरहेको छ,’ उनले भने, ‘ढुंगामा यसरी जनचेतना दिन सकिन्छ भन्ने यो नयाँ प्रयास हो।’
उनका अनुसार अहिले दुई सयवटा ढुंगामा ट्राफिक जनचेतना र प्रेरणादायी शब्दहरू लेखिएको छ। हाल जावलाखेलदेखि कुपन्डाेल सडकको आइल्यान्डमा यस्ता ढुंगाहरू राखिएको छ। प्रहरीले यी ढुंगा काभ्रेपलाञ्चोकको रोशी खोलाबाट ल्याएको थियो। नगर प्रहरीले ललितपुर महानगरपालिकाभित्रका सबैजसो सडकमा यस्तै ढुंगा सजाउने बताएको छ। ढुंगामा लेखिएका अक्षरहरू रातिको समयमा पनि देखिने गरी स्टिकर पनि टाँस्न थालिएको छ। ललितपुर नगर प्रहरीले अहिले सडक आसपासका होर्डिङबोर्ड हटाएको छ। सडक छेउछाउ सुन्दर देखाउनका लागि नगर प्रहरीले नयाँ–नयाँ तरिका अपनाउन थालेको छ।