प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन्।
तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नुपरेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताए। नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।
‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नु छ । अवको १५–१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नु छ। ठीक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरि फर्कनेछौँ,’ उनले भने, ‘परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ। जनताको मायाबाट हामी फेरि फर्कनेछौँ र फेरि देशलाई ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ।’
प्रवक्ता ज्ञवालीले भूमिसम्बन्धी आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्रविरोधी गतिविधि गरेको, मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रूपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश व्यक्त गरे।