बाँकेको खजुरा गाउँपालिकाका विद्यालय आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन्। खजुरा गाउँपालिकाले कोभिड– १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय आइतबारदेखि सञ्चालन गर्न अनुमति दिएको हो
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले स्मार्ट लकडाउनको पालना हुने गरी स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिन सक्ने निर्णय गरेसँगै खजुरा गाउँपालिकाले सूचना जारी गरी आइतबारदेखि विद्यालय सञ्चालनका लागि विद्यालयलाई परिपत्र गरेको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए।
मल्लका अनुसार कोभिड– १९ को जोखिम विश्लेषणका आधारमा विद्यालय सञ्चालन गर्न सकिने देखिएकोले गाउँपालिकाभित्र रहेका विद्यालयलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी विद्यालय सञ्चालन गर्न अनुमति दिइएको हो। कक्षा कोठामा एकसाथ विद्यार्थी राख्दा स्वास्थ्य मापदण्ड पालना नहुने भएकाले सिफ्ट प्रणालीको आधारमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको उनले बताए।