कांग्रेसको १४औँ महाधिवेशनमा एक भएको सन्देश दिन नेता रामचन्द्र पौडेलसहितका संस्थापनइतर पक्षका नेताहरू एक ठाउँमा उभिएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै नेताहरूले सभापतिदेखि केन्द्रीय पदाधिकारीमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाए । वडा तहको अधिवेशन सुरु हुनु अघिल्लो दिन नेताहरूले सभापति शेरबहादुर देउवाको विकल्प दिन आफूहरू एक ठाउँमा उभिएको बताए ।
नेता पौडेलले अहिलेको अवस्थामा विचार मिल्नेहरू एक ठाउँमा आएको र पार्टी सुधारका लागि साझा उम्मेदवारी दिन लागेको सन्देश दिन चाहेको बताए । महाधिवेशनसम्म एकता कायम रहने उनले दाबी गरे । संस्थापनइतर पक्षमा चारजना सभापतिका आकांक्षीलाई सँगै राखेर पौडेलले साझा उम्मेदवार तय गर्ने बताए ।
लामो छलफलपछि बिहीबार नेताहरूबीच सभापतिमा पौडेल र महामन्त्रीमा गगन थापालाई उम्मेदवार बनाउने सहमति जुटेको स्रोतले बताएको छ । केही दिनदेखि यस विषयमा गम्भीर छलफल भइरहेको थियो । ‘एउटा–एउटा उम्मेदवारमा सहमति जुटेपछि नै साझा उम्मेदवार दिने धारणा बाहिर ल्याइएको हो ।
सभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा गगन थापा, दुईजना उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवार बन्ने मोटामोटी सहमति बनिसकेको छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो । यसरी प्रतिबद्धता जनाउनेमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा.शशांक कोइराला, गगन थापा, सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङलगायतका नेताहरू छन् ।
पौडेल निकट स्रोतका अनुसार थापालाई महामन्त्रीमा उम्मेदवार बनाउने भएपछि उनी इतर पक्षमा आउन तयार भएका थिए । कांग्रेसको तेस्रो धारको रूपमा रहेको कृष्ण सिटौला समूहमा रहेका थापाले १४ भदौमा महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।
वरिष्ठ नेता, कांग्रेस
विचार मिल्नेहरू एक ठाउँमा आएका छौँ । एउटा सन्देश के दिन चाहन्छौँ भने पार्टी सुधारको लागि हामी एउटै सभापतिको उम्मेदवार दिएर महाधिवेशन अन्तिमसम्म सँगै हुन्छौँ ।
कांग्रेस युवा नेता
महाधिवेशन केन्द्रित बैठकहरूमा गएर पनि मैले यही मत राख्दै आएको छु । हामीले कसैले कसैलाई यो यहाँ आयो त्यो त्यहाँ गयो भनेर मात्र हुँदैन । मुख्य नेता भनेको सिटौलाजी नै हो । त्यसैले उहाँलाई अन्तिमसम्म सँगै राख्ने प्रयत्न गर्नुपर्छ र प्रयत्नले परिणाम पनि दिन्छ भन्दै आएको छु । सिटौलाजीसँग दूरी बढेको भन्ने होइन । अस्ति भर्खर मात्रै पनि हामी सँगै बसेका छौँ । छलफलहरू भइरहेका छन् ।