सिराहाका स्थानीय तहको बेरुजु सवा अर्ब, ३१ करोडभन्दा बढी पेस्की

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

सिराहाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहहरूको करिब सवा अर्ब रुपैयाँ बेरुजु र ३१ करोड रुपैयाँभन्दा बढी पेस्की रकम रहेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ। आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षणको ५८औँ प्रतिवेदनअनुसार एक अर्ब २० करोड ३७ लाख ४६ हजार रुपैयाँ बेरुजु र ३१ करोड १५ लाख दुई हजार रुपैयाँ पेस्की रकम रहेको छ।

प्रतिवेदनमा स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकोमध्ये ११ करोड ५४ लाख एक हजार रुपैयाँ असुलउपर गर्नुपर्ने, ३० करोड ४२ लाख ६० हजार रुपैयाँ नियमित गरिनुपर्ने तथा कागजात र प्रमाण नपुगी भुक्तानी दिइएको रकम ४७ करोड २५ लाख १० हजार रुपैयाँ रहेको उल्लेख छ।

जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिकाको सबैभन्दा बढी बेरुजु २२ करोड २७ लाख ४४ हजार र पेस्की १४ करोड २० लाख ३३ हजार रुपैयाँ छ। सिराहा नगरले १७ लाख ८४ हजार असुल गर्नुपर्ने, तीन करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने र चार करोड ७४ लाख ८५ हजार रुपैयाँको प्रमाण कागजात पेस गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ।

प्रमुखलाई आवास र पदाधिकारीलाई चाडपर्व खर्च
जिल्लाका अन्य स्थानीय तहको तुलनामा बेरुजु, पेस्की रकम फर्स्याेट नगर्नेमा अगाडि रहेको सिराहा नगरपालिकाको २० असार ०७४ मा भएको दोस्रो नगरसभाको निर्णयअनुसार नगर प्रमुख अशेश्वर यादवका लागि नगरपालिकाले मासिक २५ हजार रुपैयाँका दरले तीन लाख रुपैयाँ भुक्तानी दिएको छ। 

नगरपालिका कार्यालयबाट मुस्किलले दुई किलोमिटरको दूरीमा पर्ने सिराहा नगरपालिका– ८ महिसोथा गाउँ स्थायी घर रहेका नगरप्रमुख यादवलाई प्रदेश २ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ अनुसार पालिका प्रमुखको आवासका लागि घरभाडा उपलब्ध गरउन मिल्ने व्यवस्था छैन। तर, दोस्रो नगरसभाको निर्णय नं. २० को आधारमा नगरप्रमुख यादवले तीन लाख रुपैयाँ ऐनमा व्यवस्था नभएको सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ।

ऐनमा चाडपर्व खर्चको व्यवस्था नभए पनि सो आ.व.मा नगरका एक सय १३ पदाधिकारीलाई १२ लाख ९३ हजार रुपैयाँ उपलब्ध गराइएको पाइएको छ। प्रतिवेदनमा प्रदेश कानुनमा उल्लेख नभएको उक्त सुविधा सञ्चित कोषमा दाखिला गर्नुपर्ने औँल्याइएको छ।

बेरुजुमा तीन पालिकाको स्पर्धा
भूगोल र जनसंख्याको आधारमा जिल्लाकै पहिलो र ठूलो लहान नगरपालिका, धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिका बेरुजुमा सिराहा नगरको पछिपछि छन्। महालेखापरीक्षकको प्रतिवेदनअनुसार लहान नगरको बेरुजु १९ करोड ३६ लाख १५ हजार रुपैयाँ र पेस्की सात करोड पाँच लाख ५९ हजार रुपैयाँ छ। लहान नगरले विभिन्न व्यक्ति तथा फर्महरूबाट असुल गर्नुपर्ने चार करोड ४९ लाख ४४ हजार रुपैयाँ, भुक्तानी दिइए पनि कागजात तथा प्रमाण नपुर्याइएको रकम ६ करोड ७४ लाख ७६ हजार रुपैयाँ र नियमित गर्नुपर्ने एक करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। 

लहानसँगै जोडिएको धनगढीमाई नगरपालिकाको उक्त आ.व.मा बेरुजु १३ करोड ६२ लाख ३८ हजार, असुल गर्नुपर्ने एक करोड २५ लाख ४० हजार, चार करोड ९७ लाख ९१ हजार रुपैयाँको प्रमाण कागजात पेस गर्नुपर्ने, पेस्की चार करोड ४३ लाख ८० हजार र नियमित गर्नुपर्ने दुई  करोड ९५ लाख २७ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

त्यस्तै, चोहर्वा सिराहा सहायक सडक खण्डमा पर्ने विष्णुपुर गाउँपालिका पनि बेरुजुमा अगाडि छ। उक्त गाउँपालिकाको बेरुजु १४ करोड ३४ लाख ५० हजार रुपैयाँ, पेस्की एक करोड २८ लाख ६९ हजार रुपैयाँ छ।

तीन स्थानीय तहमा पेस्की शुन्य
प्रतिवेदनअनुसार जिल्लाका अन्य स्थानीय तहको आठ लाखदेखि करिब सवा १४ करोड रुपैयाँसम्म पेस्की देखिएको भए पनि उक्त आ.व.मा जिल्लाका तीन स्थानीय तहले भने पेस्की शून्यमा झारेको प्रतिवेदनमा जनाइएको छ। सखुवानन्कारकट्टी गाउँपालिका, कल्याणपुर र कर्जन्हा नगरपालिकाको बेरुजु, असुलउपर गरिनुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पुर्याउनुपर्ने रकम भए पनि पेस्की रकम भने शून्य रहेको छ।

सुझावित समाचार