एआइटिएम कलेजमा बर्मिङ्घम सिटी युनिभर्सिटीको कार्यक्रम सुरु

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

ललितपुरमा रहेको एआइटिएम कलेजमा बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीका कार्यक्रमहरू सुरु गरिएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिट्ट र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका हुन् । 

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआइटिएम) ले एक निजी शैक्षिक संस्थाका रूपमा उच्च गुणस्तरको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमको अध्यापन गराउँदै आएको छ । सन् २०१२ मा स्थापित यो कलेज १६ रोपनी जमिनमा फैलिएको तथा विभिन्न शिक्षाविद् तथा बौद्धिक व्यक्तिद्वारा सञ्चालित रहेको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहित यो कलेजले यसअघि स्विट्जरल्यान्डको आइएमआई विश्वविद्यालयसँगको सहकार्यमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको जनाएको छ । बहुराष्ट्र र बहुसांस्कृतिक सिद्धान्तको मान्यता राख्दै भविष्यमा अझै अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको कलेजले जनाएको छ । 

अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी नेपाली विद्यार्थीलाई बाह्य जगत्मा आफ्नो पकड मजबुत बनाई आफ्नो प्रतिभा संसारसामु प्रस्तुत गर्ने उद्देश्य रहेको जनाइएको छ । देशलाई दक्ष तथा नैतिक जनशक्ति प्रदान गर्नुका साथै विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने क्षमता रहेको दाबी गरेको छ ।  नेपालमै पहिलोपटक बर्मिङ्घम सिटी युनिभर्सिटीसँग साझेदारी गरेको कलेजले जनाएको छ । बर्मिङ्घम सिटी युनिभर्सिटीको अन्तर्राष्ट्रियस्तरको मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन र बिएस्सी इन कम्प्युटिङ एन्ड इन्फर्मेसन टेक्नोलोजी कोर्स सुलभ मूल्यमा प्रदान गर्ने कलेजले जनाएको छ ।         

सुझावित समाचार