तालिवानले कब्जा गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको नजर निरन्तर अफगानिस्तानमा रहिरहँदा फेरि पुरानै भाष्यलाई सतहमा ल्याइएको छ। ‘साम्राज्यवादीहरुको कब्रिस्थान’ अहिले विश्लेषण तथा टिप्पणीहरुमा मनपराइने सन्दर्भ भएको छ, मानौ, अफगानिस्तान अन्य क्षेत्रहरुजस्तै कब्जा गरिएको छैन र बाह्य शक्तिहरुद्वारा इतिहासमा अनगिन्तीपटक शासन गरिएको छैन।
सभ्य समाजका परिवन्दहरु पश्चिमा राष्ट्रहरुका लागि मात्र थिए अथवा अफगानीहरु आफूलाई जे दिइएको थियो त्यसको लागि लड्न र त्यसको संरक्षण गर्नमा निकै कमजोर र अनुभवहीन थिए भने जसरी ती परिवन्दमा अफगानीहरु ‘फिट’ छन् कि छैनन् भन्नेबारे प्रश्न र शंकाहरु प्रशस्त छन्।
तर जसरी पश्चिमी भाष्य अफगानी जनता र उनीहरुको कथित ‘हार’मा केन्द्रीत छ। केहीले मात्रै अफगानिस्तान घटनाले फिर्ता हुँदै गरेको महाशक्ति अमेरिका र यसको विश्वघटनामा निर्णायक भूमीकामा देखिएको बढ्दो असमर्थताका बारेमा के भन्छ भन्नेमा विमर्श गरेका छन्। जब म काबुल तालिवानको कब्जामा गएको घटनालाई नियाल्दै थिएँ, तब मैले अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको अभिव्यक्तिलाई सम्झिँदै थिएँ। उनले भनेका थिए, ‘अमेरिकाको शत्रु हुनु खतरनाक हुन सक्ला तर अमेरिकाको मित्र हुनु घातक छ।’
विश्वको सबैभन्दा शक्तिशाली सेना भएको सबैभन्दा धनी देशले अफगानिस्तानमा २ खर्ब डलर खर्च गर्यो, सात लाख पचहत्तर हजारभन्दा बढी सेना तैनाथ गर्यो, हातहतियार तथा तालिम उपलब्ध गरायो र दुई दशकदेखि राष्ट्र निर्माण गर्यो। तर जब यसले फर्किने निर्णय गर्यो, अफगानिस्तानमा रहेका यसका मित्रहरुले एक हप्ताभित्रमै आत्मसमर्पण गरे। के यो घटनाले अमेरिकी प्रभुत्वको शताब्दीको अन्त्यलाई संकेत गर्छ अथवा यो विश्व प्रभुत्वमा अमेरिकाको क्षणिक हार मात्र हो?
वास्तवमा, इतिहासमा अमेरिकाले आफ्नो कमजोरी देखाएको अन्य समान घटनाहरु पनि छन्। सन् १९४१ मा जापानले पल हार्बरमा आक्रमण गर्यो। त्यसपछि अमेरिकाले जापानका सामु फिलिपिन्सलाई पनि गुमायो। यसले प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई कमजोर पारिदियो। तर, अमेरिकाले आफ्नो जलसेनालाई सुदृढ बनायो र तीन वर्ष भित्रमा नै जापानलाई घुँडा टेकायो। सन् १९७३ मा इजिप्टि र सिरियाले सोभियत संघको समर्थनमा इजरायल नियन्त्रीत क्षेत्रहरुमा अचानक आक्रमण गरे। जब अमेरिकाले आफ्नो सहयोगीहरुलाई हतियार पठाउन थाल्यो, त्यसको प्रतिक्रियास्वरुप तेल उत्पादक अरबी राष्ट्रहरुले अमेरिकामाथि तेल प्रतिबन्ध लगाए। यसले अमेरिकी अर्थव्यवस्थामा नराम्रो असर पार्यो। तर, एक दशकपछि अमेरिकाले सोभियत संघको प्रभाव न्यूनीकरण गर्यो र इजिप्टलाई अरब राष्ट्रवादी कित्ताबाट अलग गर्यो।
विश्वव्यापी रुपमा आफ्नो प्रभुत्व बचाउन द्वन्दमा होमिने अमेरिकी इच्छामा कमी आएको देखिन्छ
सायद, अहिल्ये नै अमेरिकाको पतन भएको घोषणा गर्नु हतार हुन्छ। तर, पछिल्लो दुई दशकमा विश्व भूराजनीतिको गतिशीलतामा उल्लेखनीय परिवर्तन आएको छ। भारतीय–अमेरिकी राजनीतिक टिप्पणीकार फरिद जकारियाले २००८ मा प्रकाशित किताब ‘द पोस्ट–अमेरिकन वर्ल्ड’मा तर्क गरेका छन्, ‘नयाँ शक्तिहरुले अधिक रुपमा चासो बढाउनु उत्तर–अमेरिकी विश्वको वास्तविकता हो।’ उनको अमेरिकी नीति तथा सिद्दान्तहरुको अवलम्बन गरेकै कारण ‘अरु शक्तिहरुको उदय’ भएको हो भन्ने तर्क मात्रै चित्तबुझ्दो छैन।
इतिहासमा फर्किदा, विश्वमञ्चमा अमेरिकाको सुरुवात नाटकिए र इतिहास रच्ने खालको थियो। सन् १९१३ सम्ममा अमेरिका प्रमुख आर्थिक शक्तिका रुपमा उदाईसकेको थियो। यद्यपी, यसले वैश्विक मामिलामा थोरै मात्र रुचि राख्ने गर्थ्यो। तर, जब पहिलो विश्वयुद्धमा एलाईड पावरहरुको पक्षलाई सहयोग गरेर जीतको सनिश्चतता दियो, तब विश्वव्यापी मामिलामा उसको रुचि बढेर गयो। दोस्रो विश्व युद्धको अन्त्यपछि विश्व समुदायमा प्रभुत्व जमाउने शक्तिका रुपमा अमेरिकाले ब्रिटीश साम्राज्यवादलाई प्रतिस्थापन गर्दै थियो भन्ने निश्चित भएको थियो। त्यसपछिको आधा दशकभन्दापनि कम समयमै सोभियत संघ र पूर्वी ब्लकको पतन भयो, र अमेरिका विजयी भएर उभियो।
जब अमेरिकाले विश्वमा प्रभाव जमाउन सुरु गर्यो तब यसले नैतिक रुपमा ‘मेनिफेस्ट डेस्टीनी’को र आर्थिक रुपमा सन्चित मुद्राका रुपमा रहेको अमेरिकी डलरको सहारा लियो। यसरी अमेरिकाले आफ्नो आर्थिक शक्ति र निकटतम प्रतिद्वन्दीहरुबीचको भयानक खाडल निर्माण गर्दै वायुमार्ग र तेल आपूर्तीको क्षेत्रमा नियन्त्रण जमायो। यो विश्व व्यवस्था मुलभूत रुपमा अमेरिकाको हातमा थियो। जब अमेरिकाले यूएनलाई वेवास्ता गर्दै र सद्दाम हुसेनसँग विनाशकारी हतियारहरु छ भन्ने झुट फैलाउँदै सन् २००३ मा इराकमा हमला गर्यो, तब यसका नैतिक आयामहरु अलग्गिन थाले। त्यसपछि सन् २००८ को आर्थिक मन्दीले अमेरिकी अर्थ व्यवस्थाको विश्वसनियतामा हानी पुग्यो र अमेरिकाका प्रमुख आर्थिक संस्थाहरु एक पछि अर्को गर्दै टाट पल्टिए।
यी सबै घटनाहरु रुसको पुनरुत्थान र वैश्विक आर्थिक शक्ति का रुपमा चिनको उद्गमनसँग जोडिएको छ। सन् २०१० को दशकमा अमेरिका आन्तरिक रुपमा सामाजिक–राजनीतिक संकटबाट गुज्रिरहेको संकेत देखिन थालेको थियो। त्यो संकट डोनाल्ड ट्रम्प (ट्रम्पवाद)को उदय, बढ्दो नश्लिय अन्यायले ल्याएको ‘ब्ल्याक लाईभ्स म्याटर’ आन्दोलनलनको लहर र कोभिड–१९ महामारिले झण्डै ध्वस्त भएको स्वास्थ्य प्रणालीमा प्रतिविम्वित हुन्छ। अफगानिस्ताबाट अपमानजनक रुपमा फिर्ता हुनुपरेको अमेरिकाको यो लामो परिदृष्यलाई नियाल्दै गर्दा, जसले पनि भन्न सक्छ कि अमेरिकी वर्चस्व शताब्दीको अन्त्य हँदैछ।
यसको अर्थ यो होइन कि अमेरिका अब असान्दर्भिक भइसक्यो। ऐतिहासिक रुपमा हेर्दा १९औं शताब्दीको अट्टोम्यान साम्राज्य होस् या १९औं शताब्दीको अन्त्य र बीसौं शताब्दीको सुरुवाततीरबाट कमजोर हुँदै गएको रसियन साम्राज्य होस्, उनीहरु फेरि साम्राज्यवादी शक्ति निर्माण गरेर विश्वमा आफ्नो प्रभाव जमाउने कार्यमा निरन्तर लागि परिरहेका छन्।
अमेरिका संसारको सबैभन्दा ठूलो सैन्य शक्ति हो। यसको अर्थव्यवस्थाको आकार र प्रभुत्व पनि भयानक रुपमा रहिरहनेछ। तर आफ्नो शक्ति कायम राख्न प्रत्यक्ष तथा अप्रत्यक्ष द्वन्दमा भाग लिने यसको रुचिमा भने परिवर्तन आएको छ। अफगानिस्तानलगायत अमेरिकाका अन्य सारथीहरुले विश्वमा प्रभुत्व जमाउने मामिलामा अमेरिकाको बढ्दो अनिच्छा महसुश गरिसकेका छन्।
(अलजजिरामा प्रकाशित जलान खानको लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्)